सिवाईसी र स्वाभिमान साकोस एकीकरण हुने

भाद्र २२, बागलुङ । जिल्लाको वडिगाड गा.पा. वडा नं. ७ भिमगिठेमा रहेको स्वाभीमान बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ र बागलुङ बजारमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. एकआपासमा एकीकरण हुने भएको छ ।

 

पछिल्लो समयमा नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा अत्यन्तै धैरै भईरहेकाले देशभर एकीकरणको लहर चलीरहेको छ । सोही अनुसार मिति २०७६ भाद्र २१ गते सम्पन्न स्वाभीमान साकोसको ९ औं वार्षिक साधारण सभाले संस्थालाई सिवाईसीसंग एकीकरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारीत गरेको हो ।

 

एकीकरण पश्चात यस पूर्व स्वाभीमान साकोस रहेको स्थानमा सिवाईसी साकोसको सेवा केन्द्र स्थापना गरी स्थानीय स्तरबाटै प्रभावकारी सेवा सञ्चालन गर्ने सिवईसीसंग सहमती भएको संस्थाले जनाएको छ ।

 

संस्थाको नवौं वार्षिक साधारण सभालाई नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात बोल्दै पौडेलले नेपालमा सहकारी संस्थाहरु संख्यात्मक रुपमा अत्याधिक भएकाले एकीकरणको विकल्प नरहेको बताउनु भएको थियो । अबको समयमा स–साना र धैरै संस्थाहरुले सदस्यहरुको आवश्यकता अनुसारमा सेवा सुविधाहरु प्रदान गर्न असम्भव रहेको बताउदै पौडेलले एकीकरण मार्फत सदस्यहरुलाई सन्तुष्ट बनाउन सक्ने सहकारी संस्था निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको थियो ।

 

कार्यक्रममा वडिगाड गा.पा. वडा नं. ९ का वडा अध्यक्ष कृष्ण के.सी, संस्थाका संस्थापक अध्यक्ष जीतवहादुर थापा, वडिगाड गा.पा. वडा नं. ७ का वडा सदस्य दिपेन्द्र के.सी, शिक्षा उपसमिति संयोजक कृष्ण भट्टराई लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

Share This: