फिनाकस सफ्टवेयर प्रणालीको उपयोगीता कार्यदल मार्फत छलफल गरिने

काठमाडौं, २३ भदौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आफ्ना सदस्य साकोसहरूको दिगो विकासको निम्ति व्यवस्थापन सम्बन्धी तालिमहरू दिदै आईरहेको छ । त्यस्तै नेफ्स्कूनले आफ्ना सदस्य साकोसहरुको फैलदो आर्थिक एवम् व्यावसायिक कारोबारसँगै उनीहरुको बढ्दो वित्तीय आवश्यकतालाई सम्बोधन गर्न लामो अन्तराष्ट्रिय अनुभव सँगालेको सूचना प्रविधिसम्बन्धी भारतीय सेवा प्रदायक सफ्टवेयर कम्पनी ‘फिनाकस’का सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग साकोस उच्च व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

नेफ्सकूनले वित्तीय सहकारी लक्षित फिनाकस सफ्टवेयर प्रणालीको उपयोगिता सम्बन्धमा कार्यदलमार्फत विस्तृत छलफल गरी निर्णय गर्ने जनाएको छ । त्यसका लागि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा सहितको ५ सदस्यीय कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले यथाशिघ्र उक्त सफ्टवेयरका सबै सेवा र सुविधाका साथै नेपालका वित्तीय सहकारीहरुमा तिनको प्रयोगको विषयमा सूचना र तथ्याङ्क राखी विश्लेषण गर्ने जनाइएको छ ।

उक्त कार्यदलका अन्य सदस्यहरुमा विकु साकोस–नवलपुर, हाम्रो जनकल्याण साकोस–दोलखा, सिद्धिगणेश साकोस–भक्तपुर र जनउत्थान साकोस–रुपन्देहीका व्यवस्थापकहरु रहनुभएको छ । कार्यदलका सदस्यहरुमा फरक फरक सफ्वटवेयर प्रयोग गरिरहेका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुलाई छनौट गरिएको थियो ।

माइक्रोसफ्टको साझेदार कम्पनी फिनाकसले विश्व ऋण परिषद् (WOCCU) र एसियाली ऋण महासंघ (ACCU) को समन्वय र सहकार्यमा भारतबाहेक केन्या, भुटान, सुडान, दक्षिण अफ्रिका, नाइजेरिया, पाराग्वे, बोलिभिया, मेक्सिको जस्ता मुलुकका सहकारी संघ संस्था र निकायहरुलाई अत्याधुनिक सूचना प्रविधि कार्यक्रम, सफ्टवेयर र परामर्श कार्यक्रम प्रदान गर्दै आएको छ ।

 

Share This: