सहकारी ऐन संशोधन हुनेमा विश्वस्त रहनुस; कँडेल

भदौं २५, काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले “बहुउद्देश्यीय सहकारी संघ संस्थाहरूको साझा समस्या र चुनौतिहरूमा अभियानको साथ” विषयक जिल्ला व्यापी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले आफूले बहुउद्देश्यीय सहकारी संस्थाहरुको पिरमर्का बुझेको र सहकारी ऐनले बहुउद्देश्यीयकर्मीहरू बिचल्लित भएको बताउनुभयो ।

 

सहकारी ऐनले बहुउद्देश्यीयहरूमा प्रतिशतको सिमा तोकिदिएपछि बहुउद्देश्यीयकर्मीहरू आर्कोशित भएका छन् । कतिपय बहुउद्देश्यीयहरू बचत तथा ऋणमा परिवर्तन समेत भएको पाइन्छ ।

 

कार्यक्रममा बोल्दै कँडेलले प्रतिशतको कुरामा महासंघपनि सकारात्मक रहेको र आत्तिएर बचत ऋणमा परिवर्तन गरिहाल्नु पर्ने अवस्था नरहेको बताउदै सहकारी ऐन संशोधन हुनेमा विश्वस्त हुन आग्रह समेत गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले यस्ता खालका अन्तरक्रिया कार्यक्रमहरू गर्नु सुखद रहेको बताउदै राष्ट्रिय सहकारी बैंकले सदैब बहुउद्देश्यीय संघ संस्थाहरूलाई सकेको मद्दत गर्ने बताउनुभयो । उहाँले यस्ता खाल्का सहकारी ऐनहरू आउनाले सहकारीहरू खतरामा रहेको र सहकारीलाई नै पूर्ण रूपमा सिध्याउने चलखेल भएको बताउनुभयो ।

 

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरूलाई पनि आफ्नो विचार राख्ने मौका दिईएको थियो । एक सहभागीले बहुउद्देश्यीयको पनि संघ गठन भएको तर संघहरू नै क्रियाशील नभएको गुनासो गर्नुभयो ।

 

कार्यक्रममा जिल्ला संघ काठमाण्डौका महासचिव खेमराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाले बहुउद्देश्यीय सहकारी संस्थाको अवस्था,समस्या र समाधानबारेमा कार्यपत्र पेश गर्नुभएको थियो।

नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारी ऐन र नियमावलीमा भएका व्यवस्थाले बचत ऋण बाहेकका संघसंस्थालाई फरक व्यवहार गरेको स्वीकार्दै त्यस्तो हुनुमा नेफ्स्कुनले वा नेफ्स्कुनका कुनै पदाधिकारीले भूमिका खेलेको भन्ने आरोप लागेकोमा दुख ब्यक्त गर्नुभयो ।

 

काठमाडौं महानगरपालिकाका सहकारी विभागका प्रमुख नवराज ढकालले बहुउद्देश्यीयहरूले बचत र ऋण बाहेक अन्य क्षेत्रमा काम गर्नुपर्ने तर यति प्रतिशत गर्नैपर्ने नरहेको बताउनुभयो । बिस्तारै उत्पादन बढाउदै लान सकिने र यसको लागि महानगरपालिकाले गर्नुपर्ने काम आफू गर्न उत्सुक रहेको बताउनु भयो ।

कार्यक्रमका सभापति एवं बहुउद्देश्यीय सहकारी संघ काठमाण्डौंका अध्यक्ष मनोज थापाले अरू सहकारीलाई भन्दा बहुउद्देश्यीयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । बहुउद्देश्यीय सहकारी समस्या बहुउद्देश्यीयको मात्र नभई सिंगो अभियानकै भएकाले तिनको समाधानका लागि अभियानले पूर्ण रुपमा साथ दिनुपर्नेमा उहाले जोड दिनुभयो ।

Share This: