सिवाईसी साकोसको दशौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पौडेल

१३ आश्विन २०७६, बागलुङ ।

जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्लाभर रहेका संस्थाका सदस्य सेवाकेन्द्रहरु मार्फत एकैदिन एकै समयमा ८ वटा स्थानमा संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

जिल्लाको बागलुङ बजार, तित्याङ, विहुँ, हटिया, बुर्तिवाङ, कुश्मिसेरा, बाटाकाचौर र खर्वाङमा संस्थाले स्थानीय स्तरमै छुट्टाछुट्टै साधारण सभाहरु सम्पन्न गरेको हो ।

केन्द्रिय कार्यालय अन्तर्गत भएको साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारीको भुमिका महत्वपुर्ण रहेको वताउनु  भएको छ ।

 

कंडेलले शेयर सदस्यको जिवन स्तर उच्च पार्ने खालका परियोजना सहकारी संस्थाहरुले संचालन गर्नुपर्ने बताउनु भयो ।सहकारीले सदस्यहरुलाई बचत र ऋणको कारोवारमा मात्र संलग्न नगराई व्यवसाय मुखी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । केही सहकारी संस्थाले गरेको गलत काम देखेर देश भरका सहकारीलाई सरकारले नियन्त्रण गर्न नहुने समेत कँडेलको भनाई थियो ।

 

सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा सहकारीका सल्लाहकार पद्यमनाथ शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी., जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतम, सल्लाहाकार सकुन्तला शर्मा, नेपाल वचत तथा ऋण सहकारी संघ लिमिटेड फिल्ड कार्यलय पोखराका प्रमुख भरत न्यौपाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

साधारण सभामा संचालक समिति सदस्य मुकेशचन्द्र राजभण्डरीले स्वागत र सहसचिव तारा वहादुर विकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा ८ हजार भन्दा वढि शेयर सदस्यहरु रहेका छन् । १७ करोड ६४ लाख बराबरको शेयर पुँजी रहेको संस्था कारोवार, शेयर सदस्य, लगानी लगाएतका विभिन्न वित्तीय तथा गैरवित्तीय आधारमा धौलागिरी क्षेत्रमै अग्रणी रहेको छ । संस्थाले सदस्यहरुबाट ७२ करोड १३ लाख रुपैया बचत संकलन गरेको छ भने सदस्यहरुको आय आर्जन तथा व्यवसायीक क्षेत्रमा गरेको ऋणमा ७२ करोड ७० लाख लगानीमा रहिरहेको ऋण रहेको छ । संस्थामा संस्थागत कोष ५ करोड ३० लाख र कुल सम्पत्ती १ अर्व ३ करोड बराबर रहेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले ३६५ दिन नै कारोवार सेवा, मोवाईल बैंकीङ सेवा, रेमीट्यान्स सेवा, चौवीसै घण्टा ईमेर्जेन्सी कलीङ सेवा, विहानी सेवा र सेवाकेन्द्रहरु मार्फत स्थानीय स्तरमै वित्तीय तथा गैर वित्तीय सेवाहरु सञ्चालन गर्दै आईरहेको छ भने यस आ.व. बाट ए.टि.एम. सेवा पनी सञ्चालन गर्ने संस्थाले जनाएको छ ।

 

संस्थाका जिल्लाभर सञ्चालीत ८ वटा साधारण सभाले संस्थाको आर्थिक वर्ष ०७६।०७७ का लागि विभिन्न २३ वटा नीति तथा कार्यक्रमहरु सञ्चालनका लागि पारीत गरेका छन् भने संस्थाले यस आ.व. मा १२ हजार ५ सय सदस्य, १९ करोड ९८ लाख शेयर पुँजी, १ अर्व ३ करोड बचत, १ अर्व १२ करोड लगानीमा रहीरहेको ऋण, ७ करोड ६३ लाख कोष, १ अर्व ४८ करोड बराबरको सम्पत्ती रहने गरी बजेट तथा कार्यक्रमहरु पारीत गरेको छ । संस्थाले यस आ.व. मा जिल्ला स्थितका ३० वटा सहकारी संस्था एकीकरण गरी नेपालमै सबैभन्दा धैरै सहकारी संस्था एकीकरण गर्ने संस्थाको रुपमा सिवाईसीलाई दर्ज गर्ने उद्देश्य राखेको संस्थाका अध्यक्ष पौडेलको भनाई थियो ।

 

संस्थाले साधारण सभाकै अवसरमा असल नियमित, कारोवार र आवाधिक बचतकर्ता, उत्कृष्ट उद्यमी सदस्य, उत्कष्ट ऋणी सदस्य, असल बाल बचतकर्ता र असल सदस्य लगाएतका विभिन्न विधामा ८ वटै सेवाकेन्द्रहरु मार्फत सम्मान गरेको छ ।

आज सम्पन्न दशौं वार्षिक साधारण सभाले संस्थाको आगामी ४ वर्षका पुन चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति र पदमपाणी शर्माको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति समेत निर्विरोध चयन गरेको छ ।

 

सञ्चालक समितिको उपाध्यक्षमा गण्डकी थापा अधिकारी, सचिव जयराम भारी, सह–सचिव सुवास आचार्य, कोषाध्यक्ष सीता सापकोटा कँडेल र सदस्यहरुमा हर्कवहादुर पाण्डे, मोतीराम गौतम, कृष्णप्रसाद रिजाल, मेषलाल शर्मा, विष्णुराज पन्त, पुतली थापा, दिपा गौतम पौडेल, भिमकुमारी श्रीस रहनु भएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा गुमादेवी चापागाई र हरिप्रसाद पौडे्याल रहेको संस्थाले जानकारी दिएको छ ।

Share This: