जेष्ठ नागरिकलाई सामुहिक सम्मान

मध्यपुरमा साठी वर्ष उमेर पूरा भएका ६५ जना जेष्ठ नागरिकहरुलाई सामुहिक रुपमा सम्मान गरिएको छ । नगरमै सम्भवतः पहिलो पटक यति धेरै संख्यामा जेष्ठ नागरिक सम्मानित भएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा आवद्ध आमाबुवाहरुलाई १२ औँ वार्षिक साधारणसभामा सम्मान गरेको हो ।

कार्यक्रममा सांस्कृतिक सम्मानको रुपमा लायकू भैल संचालन समिति, मानन्धर गुंला बाजा, मध्यपुर गुंला बाजा तथा थिमि गुंला बाजा खललाई पनि सार्वजनिक रुपमा कदर गरिएको छ । सांस्कृतिक क्षेत्रको योगदानलाई मूल्यांकन गरी ती संस्थाहरुलाई प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलमार्फत कदर–पत्र प्रदान गरिएको थियो ।

शंखधर चोकस्थित यचु पार्टी भेन्यूमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानुनमन्त्री जमकट्टेलले गरीबहरुको जीवनस्तर सुधार गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए । जमकट्टेलले भने, ‘सहकारीमार्फत रोजगारी सिर्जना गरी पुँजीको सहि सदुयोग गर्न सके सरकारको समृद्धिको नारा साकार हुन्छ’ । गरिब तथा महिलाहरुको क्षमता बृद्धि गरी तीन खम्बे नीति बमोजिम सहकारीमार्फत आर्थिक रुपान्तरमा अग्रसर हुन उहाँले आह्वान गरे ।

त्यस्तै, मध्यपुर थिमि नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगर परिषद्बाट सहकारी दर्ता सम्बन्धीको ऐन पारित भइसकेको जनाइन् । नगरभित्रका सम्पूर्ण सहकारी संस्थालाई आआफ्ना वडा कार्यालयमा दर्ता गर्न आग्रह गर्दै सो प्रक्रियाको लागि आर्थिक वर्ष २०७२÷०७३ लाई आधार वर्ष मानेको बताइन् । उपप्रमुख मधिकर्मीले साधारणसभा सफलताको कामना गर्दै सहकारीमार्फत सांस्कृतिक तथा सामाजिक क्षेत्रमा दिएको योगदानलाई प्रशंसा गरिन् । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनकृष्ण श्रेष्ठ, चार नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, रमेश थापा, तुल्सीहरी प्रजापति लगायतले मन्तव्य राखेका थिए ।

कृष्णकाजी मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष, कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन बमोजिम संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा एक हजार एक सय ६२ जना सेयर सदस्य छन् । संस्थाले पाँच प्रतिशतको आयकर व्यवस्था पश्चात् ४ लाख ५७ हजार पाँच सय ३७ रुपियाँ ५९ पैसा खुद नाफा कमाएको छ । संस्थाले आर्थिक वर्षभरी ८ करोड ६१ लाख ५० हजार पाँच सय ७१ रुपियाँ ८९ पैसाको कारोबार गरेको छ । साधारणसभा कार्यक्रममा संस्थाले आफ्नै सहकारी भवन बनाउनको लागि ‘भवन निर्माण कोषको स्थापना’ भएको घोषणा गरिएको थियो । कार्यक्रममा विभिन्न निक्षेप शिर्षकका नयाँ बचत खाताहरुको विषयमा जानकारी गराइएको थियो ।

सुन्दरलाल श्रेष्ठले संयोजन गरेको कार्यक्रममा कानुनमन्त्री, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि, नेफ्स्कूनका प्रतिनिधि, नगरपालिका अन्तर्गतको सहकारी शाखाका प्रतिनिधि, सहकारी अभियन्ता, स्थानिय जनप्रतिनिधि, पेशागत संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार तथा शुभेच्छुकहरुको सहभागिता थियो । सभ्य र भव्य कार्यक्रमलाई संचारकर्मी ऋषि श्रेष्ठले संचालन गरेका हुन् । – केके मानन्धर

Share This: