महिला सहकारीमा पुरुषलाई पनि सदस्यता

दशै, तिहार, छठ तथा शुभ दिपावलीको अवसरमा प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा पहिलो पटक पुरुष शेयर सदस्यहरुलाई प्रवेश गराईएको छ ।

कार्यक्रमकी प्रमुख अतिथी भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले मिलनबाबु घिमिरेलाई पुरुष सदस्यको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै शाहले अब समावेशीमा जानु पर्छ भनेर जुन उदेश्यका साथ सहकारीले पुरुषलाई पनि शेयर सदस्य बिस्तार ग¥यो त्यो उदाहरणीय रहेको बताउनु भयो ।

 

त्यस्तै कार्यक्रममा नेफ्स्कून सञ्चालक समिति सदस्य शान्ति अधिकारीले आफ्नो स्थापनाकाल देखि महिलाले मात्रै सहकारी सञ्चालन गरेको अवस्थामा अब पुरुषसंग पनि हातेमालो गरेर अगाडी बढ्ने उदेश्यका साथ सहकारीले पुरुष सदस्यता विस्तार गरेको बताउनु भयो । त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ को बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य तेजेन्द्रबहादुर खड्काले नयाँ कानुन विधि र प्रविधिहरु आएको भन्दै त्यससंग जुध्न अब सहकारीहरु एकिकरणको अभ्यासमा जानु पर्ने बताउनु भयो ।

 

कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष केशब रेग्मी, तारापुञ्ज बचत तथा ऋण सहकारीका अध्यक्ष सुदीप रेग्मी, जयकाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष कल्याणी ढकाल, प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकारहरु भगवती घिमिरे, भगवती पौडेल र कल्याणी मिश्र त्रिपाठी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष बिमला तमाङ्गले स्वागत मन्तव्य दिनु भएको थियो ।

 

भरतपुर महानगरपालिका वडा न. १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको यस सहकारीको तिन स्थानमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । वि.सं २०५२ साल माघ २६ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा आएको यस सहकारीमा अहिले करिब चार हजार ६ सय शेयर सदस्य रहेका छन् ।

Share This: