इटालीको अध्ययन भ्रमणमा जाने टोलीको विदाई

राष्ट्रिय सहकारी महासंघले इटालीको सहकारी अध्ययन अवलोकन भ्रमणमा सहभागी हुने एक टोलीलाई सोमबार विदाई गरेको छ । महासंघका अध्यक्ष केशव बडालले इटालीको सहकारी भ्रमणमा सहभागी हुने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र महासंघका प्रतिनिधि रहेको टोलीको विदाई गर्नुभएको थियो । युरोपमा सहकारीमार्फत पर्यटन तथा सांस्कृतिक सहकारीको अवस्थाको विषयमा सरकारी र सहकारीकर्मीको सो टोलीले अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको छ । नेपाल भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा हुन लागेको सो भ्रमणले नेपालमा सहकारीमार्फत पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण हुन सक्ने महासंघका अध्यक्ष केशब बडालले बताउनुभयो ।

पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रुपमा रहेको नेपालमा सहकारीमार्फत टुरिजमको विकास गर्न सकेको खण्डमा समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल हुन सक्ने बडालको बुझाई छ । त्यसका लागि टोलीले महत्वपूर्ण प्रतिवेदन तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो ।

भ्रमण टोलीमा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयकी सह सचिव चन्द्रकला पौडेल, महासंघका संचालक चन्द्रप्रसाद ढकाल र मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद शर्मा रहनुभएको छ । मंसिर १० देखि १४ गतेसम्म हुने सो अध्ययन अवलोकन भ्रमणका क्रममा इटलीको सहकारी अभियानको शिर्षस्थ निकाय नेशनल कन्फडेरेसन अफ को–अपरेटिभमा अन्तक्रियाको कार्यक्रम समेत रहेको छ । त्यहाँ नेपालको तर्फबाट मन्त्रालयकी सह सचिव पौडेलले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । त्यसैगरि रोममा साँस्कृतिक सहकारीको अवलोकनको कार्यक्रम समेत छ । जुन नेपालका लागि उपयुक्त हुने देखिन्छ । त्यसैगरी बोलोन्गामा समेत सहकारी संस्थाको भ्रमणको कार्यक्रम रहेको छ ।

विदाई कार्यक्रममा महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालक रमेश पोख्ररेलको उपस्थिति थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले भ्रमणको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

Share This: