स्थिरीकरण कोषमा सहभागी हुन साकोसहरुले कोष बाँडफाँडमा ध्यानदिनुपर्ने

मंसिर १६, चितवन । नेफ्स्कूनका सञ्चालक सदस्य शान्ति अधिकारीले बचत तथा ऋण सहकारी संस्थाहरुलाई स्थिरीकरण कोषमा सहभागी भएर भविष्यमा आइपर्न सक्ने जोखिमबाट मुक्त रहन आजैदेखि कोष बाँडफाँडमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

लोक कल्याणकारी साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा चितवन नारायणी क्लष्टर तेस्रोको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम कार्यशाला गोष्ठीलाई संवोधन गर्दै सञ्चालक अधिकारीले स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ स्वीकृत भई संघ कोष सञ्चालनको तयारीमा रहेको अवस्थामा कार्यविधिमा तोकिएको न्यूनतम आवश्यकता पुरा गरेका सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरुले कोष बाँडफाँडमा ध्यान पुर्याउनुपर्ने बताउनुभएको हो ।

नेफ्स्कूनका सञ्चालक सदस्य भरत प्रसाद दबाडीले संघद्धारा प्रबर्द्धित साकोस गुणस्तर सुनिश्चितताका कार्यक्रममा सहभागी साकोसहरुको जोखिम कम हुँदै जाने भएकोले साकोसहरुको संस्थागत र वित्तीय विकास सम्भव भएको बताउनुभयो ।

मंसिर १४ गते सम्पन्न भएको उक्त कार्यशाला गोष्ठीमा नवलपरासी र चितवन जिल्लाका गरि १० वटा साकोसबाट सञ्चालक समितिका अध्यक्ष र प्रोबेशन कार्यदलका संयोजक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष नारायण प्रसाद कंडेलले साकोस स्तरीकरणको कार्यक्रमले साकोसहरुको गुणस्तर बृद्धि र दीगो विकासमा मद्दत पुग्ने विश्वास लिएको बताउनुभयो ।

कार्यशालामा साकोसमा जोखिम कम गर्ने उपाय, ऐन, नीति नियम साथै गुणस्तर परीक्षण सूचांकहरुको विश्लेषण गरिएको थियो ।

-साकोस खबर बाट-

Share This: