स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि कार्यान्वयन सम्बन्धी अन्तरक्रिया

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७६ कार्यान्वयन तथा अन्तराष्ट्रिय सफल अभ्यास सम्बन्धी अन्तरक्रिया आज सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन सहकरी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै रजिष्ट्रार पाण्डेले नेपालको बचत तथा ऋण सहकारी अभियानलाई मर्यादित र सुशासित बनाउने दिशामा स्थिरीकरण कोष प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थिरीकरण कोष कार्यान्वयनमा देखिने चुनौतीहरुलाई चिर्दै नेफ्स्कूनले कोषमा बचत तथा ऋण सहकारी संस्थाहरुको आबद्धता विस्तार, साकोसको क्षमता तथा योग्यता अभिबृद्धि लगायतका बिषयलाई ध्यान दिएर विद्यमान ऐन कानून र निर्देशनहरुको पालना गर्दै र त्यसमा परिमार्जन गर्नुपर्ने अवस्था भए त्यसका लागि लविङ गरेर अगाडि बढ्न हौसला प्रदान गर्नुभयो । उहाँले नेपालको बचत तथा ऋण सहकारी अभियानमा स्थिरीकरण कोष शुरुवात गर्ने सन्दर्भमा एशियाली ऋण महासंघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीको महत्वपूर्ण भूमिका रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा एशियाली ऋण महासंघ (ACCU) का प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्यो र प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीले स्थिरीकरण कोषको सफल अभ्यास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्ने क्रममा संघका अध्यक्ष डी.बी. बस्नेतले स्थिरीकरण कोष नेपालको साकोस अभियानको आफ्नै कोष हो, यसलाई जतिसक्दो चाँडो शुरुवात गरौं, शुरुवातको क्रममा समस्याहरु सिर्जित भएमा त्यसलाई परिमार्जन गर्दै जान सकिने विश्वास व्यक्त गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरे, बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, महासचिब चन्द्र प्रसाद ढकाल, लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारी, सञ्चालक सदस्य, उद्धव सापकोटा सहित स्थिरीकरण कोष सञ्चालन समितिका पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो ।

 

कोष सञ्चालन समितिका पदाधिकारीहरुमा संयोजक नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेत सहित सहकारी मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिहरु सदस्य र सदस्य सचिवमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत रहनुभएको छ ।

अन्तरक्रिया कार्यक्रम सहजीकरण संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

Share This: