हाम्रो सगरमाथा सहकारी बिग मर्जरमा जाने

ललितपुर, २८ पुस । ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था बिग मर्जरमा जाने भएको छ ।
गत शनिबार (पुष २६) गते सम्पन्न संस्थाको २२ औं साधारणसभाले बिग मर्जरमा जाने निर्णय पारित गरेको छ । मर्जरमा जाने संस्थाहरु बीच छलफल चलिरहेको र छिट्टै टुंगो लाग्ने साधारणसभामा जानकारी गराईएको थियो । यस अघि धेरै संस्थाहरु मर्ज गर्नेमा हाम्रो सगरमाथा रहेको छ । संस्थाको विभिन्न जिल्लाहरुमा गरी १९ वटा सेवा केन्द्र रहेको छ । ११ हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी १७ करोड पुगेको छ । आर्थिक वर्ष २०७५-०७६ मा १ अर्ब ६५ करोड बचत संकलन गरी १ अर्ब ३० करोड कर्जा प्रवाह गरेको साधारणसभामा जानकारी गराईएको थियो । हाल संस्थामा १ सय ७० जना कर्मचारी कार्यरत छन् ।

साधारणसभामा प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रहेका थिए । कार्यक्रममा बोल्दै नेता नेपालले सहकारी संस्थाहरु धेरै भन्दै मर्जर अहिलेको आवश्यकता रहेको बताएका थिए । त्यस्तै आर्थिक समृद्धिको लागि सहकारी उपयुक्त माध्यम रहेको र अब सहकारी संस्था उत्पादनमा केन्द्रित रहनुपर्ने बताएका थिए ।

साधारणसभामा संस्थाका अध्यक्ष केबि उप्रेतीले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष उप्रेती र लेखा संयोजक पौडेलले पेश गरेको प्रतिवेदन साधारणसभाबाट पारित भएको छ ।

अध्यक्षमा पुनः केबी उप्रेती

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः के.बि. उप्रेती निर्वा्चित भएका छन् ।

गत शनिबार (पुष २६) गते सम्पन्न संस्थाको २२ औं साधारणसभाले पुनः केबि उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।

संस्थाको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा शिवप्रसाद कट्टेल, सचिवमा देवराज पराजुली, कोषाध्यक्षमा मुकुन्दप्रसाद पाण्डे, सदस्यमा बद्रि बहादुर राउत र प्रकाशमान शाही निर्वा्चित भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा राजु पौडेल निर्वा्चित भएका छन् । पौडेल यसअघि पनि लेखा समिति संयोजक थिए ।

Share This: