धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न

अध्यक्षमा पुनः कृष्ण पौडेल

 

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आगामी चार वर्षे कार्यकालका लागि कृष्ण पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै क्रियाशील र श्रृजनशील मानिसहरु सहकारी अभियानमा रहेकाले जीवनलाई सार्थकरूपमा अगाडि बढाउन अभियान सफल हुने बताए । उनले इमानदार, अनुशासित, भद्र एवम् सभ्य मानिसहरुको जमात सहकारी अभियानमा रहेको बताउदै सहकारी अभियन्ताहरु सबै नागरिकमध्य सर्वोत्कृष्ट रहेको बताए ।

बानियाँले विगत १२–१४ वर्ष अगाडिका दिनलाई स्मरण गर्दै आज संस्थाले लगभग तीन करोडको शेयर पुँजी पुर्याउने बेलासम्म सुरुका दिनमा संस्था कुन अवस्थामा थियो र अहिले कस्तो स्थितमा रहेको छ सबै सदस्यहरुले थाहा पाउनु जरुरी रहेको बताए ।

सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २१ करोड १२ लाख ५४ हजार १६१ रुपैयाँको वासलात बनाएको उल्लेख छ । चार हजार १६३ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी दुई करोड ७७ लाख ३४ हजार ८०० रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले संस्थाको कोषमा जम्मा एक करोड ४२ लाख ६६ हजार ५३० रुपैयाँ रहेको सुनाउँदै साकोसले अबका दिनमा ‘एक प्रकृतिको सहकारी एक सदस्यको नीतिलाई अभियानको रुपमा कार्यान्वयन गरिने जानकारी गराए । उनले संस्थाको क्षमतामा थप वृद्धि हुनेगरी अन्य सहकारी संस्थासँग एकीकृत गर्ने नीतिलाई निरन्तरता दिइएको बताए ।

साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट बाल बचतकर्ताका रुपमा असिस्मा श्रेष्ठ, क्रमिक बचतकर्ताबाट मदन ओली, एकवर्षे बचतबाट लीला शिवाकोटीलाई सम्मान गरिएको थियो । त्यसैगरी साधारण बचतबाट पारुला मण्डल, सन्ध्याकालिन बचतबाट गोविन्दबहादुर कटुवाललाई सम्मान गरियो भने ऋण लिएर उत्कृष्ट उद्यमीका रुपमा बविता मण्डललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, महालक्ष्मी साकोसका अध्यक्ष घनश्याम चौधरी, पत्रकार गणेश पोखरेल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख मुना घिमिरे, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका लेखा समिति संयोजक किशोर भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।

अध्यक्षमा पुनः कृष्ण पौडेल

सञ्चालक समितिको अध्यक्षमा कृष्ण पौडेल पुनः चयन भएका छन् । उपाध्यक्षमा डिल्लीप्रसाद ओली र सचिवमा किशोर भट्टराई चयन भएका छन् ।

त्यस्तै संस्थाको सञ्चालक सदस्यहरुमा डा. गौरीशंकर झा, युवराज काफ्ले, पार्वता श्रेष्ठ, कमलादेवी सापकोटा, रणदेव हजाम, शुसिला श्रेष्ठ, सुमन खनाल र खड्ग तामाङ चयन भएका छन् । यसरी नै संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भुवन रिजाल तथा सदस्यहरुमा डम्बर ढुंगाना र रामबहादुर श्रेष्ठ चयन भएका निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र अधिकारीले घोषणा गरे ।

साधारणसभाको उद्घाटनका अवसरमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका सदस्य अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

Share This: