महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना

पौष २८, काठमाडौं । राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानको सफलतालाई थप उचाईंमा पुर्याउन सबैको साझा धारणा आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आइतबार आयोजना गरेको राष्ट्रिय सहकारी महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले समग्र सहकारी क्षेत्रमा देखा परेको विद्यमान समस्याहरुको पहिचान र त्यसको प्रभावकारी समाधानका लागि महासंघले सबैपक्षबीच आवश्यक समन्वय गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभएको हो ।

महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका र त्यसको प्रभावकारीता अभिवृद्धिको विषयमा चर्चा गर्दै सहकारीका लागि दीगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको पूर्ण परिपालना गर्न आग्रह गर्नुभएको थियो ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीको गौरबपूर्ण इतिहाँसका सकारात्मक पक्षहरुलाई अनुसरण गर्दै सहकारी मार्फत समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पहिल्याउन प्रतिबद्धताका साथ लाग्ने र यसबीचमा सबै पक्षबीच आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बड्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई माला लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन  र सहजीकरण नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले नेपालको बचत तथा ऋण सहकारी अभियानमा नेफ्स्कूनको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेफ्स्कून खबरबाट

Share This: