बहुउद्देश्यीय सहकारी सधै पीडामा रहेकोः भण्डारी

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारीहरू सधै पीडामा रहेको बताउनुभएको छ ।  काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै भण्डारीले सो कुरा बताउनुभएको हो ।

साधारण सभाको प्रमुख अतिथि समेत रहनुभएका  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले   सहकारी ऐन तथा नियामावलीले बहुउद्देश्यीय प्रकृतिका सहकारीलाई दोश्रो दर्जाको ब्यवहार गरेको समेत आरोप लगाउनुभयो ।

सहकारी ऐन संशोधनको संघारमा भएकोले महासंघले बहुउद्देश्यीय सहकारीको समस्यालाई सम्बोधन गर्ने प्रस्ताव नलगे सहकारी महासंघ घेराऊ गर्न आफूहरु बाध्य हुने उहाँले  जनाउनुभयो । ऐन र नियमावलीले सहकारीलाई उत्पादनमा जान भनेपनि धेरै उत्पादनमा जान धेरै कठिनाइ रहेको उहाँले  बताउनुभयो ।

संशोधन गर्न लागेको ऐनमा मूख्य कारोबार, स्थीरिकरण कोष लगायतका केही प्रावधान सच्याउनुुपर्ने र सहकारीलाई उत्पादन क्षेत्रमा लाग्न सहजीकरण हुने कानुन ल्याउन आवश्यक रहेको धारणा उहाँको थियो ।

सभामा संघका अध्यक्ष मनोजकुमार थापा मगरले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा ५३१ बहुउद्देश्यीय सहकारी रहेकोमा हालसम्म १२९ संस्थामात्र संघमा आवद्ध गराउन सकेको बताउनुभयो । बहुउद्देश्यीय सहकारीलाई ऐनले लगाएको थ्रेसहोल्ड, विभेदकारी कर, सहकारीको स्वायत्ततामाथि हस्तक्षेप हुनेगरी लागु भएको सन्दर्भ व्याजदरका विषयमा संघले सुधारका लागि सक्दो भूमिका खेलेको उहाँले जनाउनुभयो ।

संघको भावी योजना तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले चार वर्षे रणनीतिक तथा व्यवसायिक योजना बनाउने, कर्मचारी सहित कार्यालयलाई व्यवस्थित गर्ने, जिल्लाभरका संस्थाहरुलाई आवद्ध गर्न पहल गर्ने, क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठी आयोजना गर्ने, बहुउद्देश्यीयलाई लगाइएको थ्रेसहोल्ड हटाउन पहल गर्ने जस्ता कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।

सभामा जिल्ला सहकारी संघ काठमाडौका ज्ञानबहादुर तामाङ्ग, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमिल्सिना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका कोषाध्यक्ष दिपक पनेरु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

नेपालपत्र न्यूजबाट

Share This: