सहकारीको विकासका लागि छुट्टै मन्त्रालयको आवश्यकता : खतिवडा

काठमाडौं । प्रतिनिधि सभा सदस्य, कृषि सहकारी एवं प्राकृतिक स्रोत समिति तथा सहकारी समिति संयोजक घनश्याम खतिवडाले सहकारीको विकासका लागि छुट्टै सहकारी मन्त्रालय र बचत तथा ऋण सहकारी ऐनको आवश्यकता रहेको बताउनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को आयोजनामा काठमाडौंमा सम्पन्न स्थिरीकरण कोष सम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

गोष्ठीलाई संम्बोधन गर्दै  खतिवडाले स्थिरीकरण कोष बचत तथा ऋण सहकारीको प्रबद्र्धन र विकासका निम्ति भएकोमा कसैको दुई मत नहुने बताउनु भयो ।

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले स्थिरीकरण कोष कार्यविधि जारी भएको छ, कोष सञ्चालनमा नेफ्स्कूनले सही पहलकदमी अगाडि बढाउन र सम्पूर्ण बचत तथा ऋण सहकारीहरु ढुक्कका साथ आजैबाट स्थिरीकरण कोषमा सहभागी हुन आब्हान गर्नुभयो । गोष्ठीमा संघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले स्थिरीकरण कोषको आवश्यकता सम्बन्धमा र नेफ्स्कूनका परामर्शकर्ता शिव अधिकारीले स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यबिधि र कार्यान्वयन रणनीति, २०७६ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बी. उपे्रती लगायतले स्थिरीकरण कोष सञ्चालन सम्बन्धी ऐक्यबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु, नेफस्कूनका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक समिति, लेखा समिति लगायत विभिन्न जिल्लाबाट सहभागी हुनुभएका साकोसका प्रतिनिधिहरु र कर्मचारीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

जोखिम मुक्त, दीगो र भरपर्दो बचत ऋण सहकारी अभियानका लागि स्थिरीकरण कोषको शुरुवात सम्बन्धमा बचत ऋण सहकारी अभियानका प्रतिनिधिहरु र सरोकारवाला निकायहरुद्वारा सामूहिक ऐक्यबद्धता जाहेर भएको छ ।

नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष परितोष पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दामोदर अधिकारीले कार्यक्रम उद्घोषण गर्नुभएको थियो । गोष्ठीले स्थिरीकरण कोषको प्रारम्भिक भेलामा छलफलका लागि चारवटा प्रस्तावहरु समेत पारित गरेको छ । उक्त ४ प्रस्तावहरुमा ः

  1. बचत ऋण सहकारी संस्थाहरुको जोखिम व्यवस्थापनका लागि स्थिरीकरण कोष स्थापना गर्न हामी तयार छौं ।
  2. सहकारी नियमावलीको नियम ७४ को उपनियम (४) बमोजिम आवश्यक न्यूनतम प्रारम्भिक योगदान पुग्ने गरी कोषमा रकम जम्म गर्न हामी प्रतिबद्ध छौं ।

 3.प्रारम्भिक योगदानको रकम २०७६ चैत्र मसान्त भित्र जम्मा गर्न हामी तयार छौं ।

 4.प्रारम्भिक योगदान वापत प्राप्त हुने रकम कार्यबिधि अनुसार बैंक खातामा राख्न हामी प्रतिबद्ध छौं ।

Share This: