सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय गोष्ठी शुरु

काठमाडौं, माघ २८ । राष्ट्रिय सहकारी महासंघको आयोजनमा सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला गोष्ठी शुरू भएको छ ।  उक्त गोष्ठीको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले कृषि उत्पादन बृद्धि गर्न र व्यवसायीकीकरण गर्नका लागि सहकारी महत्वपूर्ण संयन्त्र भएको बताउनुभएको छ । उहाँले जमिनको व्यवस्थित सुधार नगरी कृषिले फड्को मार्न नसक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न सहकारीले भूमिका खेल्न सक्ने भएकाले सरकारले सहकारी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि धेरैभन्दा धेरै मानिसलाई उत्पादनमा जोड्नुपर्ने भएकाले सहकारीले यो कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी उहाँले घरेलु तथा साना उद्योगको विकास र विस्तारमा सहकारी लाग्नुपर्ने बताउनुभयो । अब सहकारीले रोजगारी सिर्जना हुने उद्यमशिल कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा पूर्व मन्त्री तथा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले सहकारी ऐन २०७४ र सहकारीलाई उद्योग व्यवसायमा जानका लागि बाधा गरेका अन्य ४७ वटा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेलले अहिलेको पुस्ता उद्यमी नबनी भावी पुस्ता उद्यमी बन्न नसक्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले नेतृत्वमा बसेकाले फराकिलो सोच राख्नुपर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघले सहकारी अभियानमार्फत उद्यमशीलता बृद्धि गरी सहकारीको योगदान बृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले समृद्ध मुलुक निर्माणका लागि सहकारीमार्फत जनतालाई उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वित्तिय संघियताका विश्लेषक डा खिमलाल देवकोटाले सहकारीमार्फत उद्यमशिलता विकासका लागि सरकारका विभिन्न निकायको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । क्षमता विकास विशेषज्ञ सहकारी मार्फत युवा स्वरोजगार सिर्जनाः नविन प्रविधिको प्रयोग विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वरिष्ठ राजयोग ध्यान प्रशिक्षक विजयराज शर्मा सिग्देलले व्यवसायिक सफलताको लागि तनाव व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

 

माघ २९ गते महासंघका निवर्तमान अध्यक्ष केशव बडालले दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले सहकारीमा उद्यमशिलता विकास र संस्थागत सुशासन विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने जानकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले  दिनुभयो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालद्वारा लिखित सहकारी स्वायत्तता र स्वतन्त्रता नामक पुस्तक  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले विमोचन गर्नुभयो ।

Share This: