महासंघद्वारा सचिव न्यौपानेको स्वागत

राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेलाई स्वागत गरेको छ ।
मिति २०७६ फागुन ३० गते पुल्चोकस्थित आफ्नो भवनमा महासंघका अध्यक्ष मिनराज कँडेलले उहाँलाई स्वागत गर्नु भएको हो ।
सो कार्यक्रममा सचिव न्यौपानेले सरकार र सहकारीको उदेश्य देशलाई समृद्ध बनाउने भएकाले एउटै धारणा बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहकारी विभागको रजिष्ट्रारको समेत अनुभव संगालिसक्नु भएका न्यौपानेले नीति निर्मातालाई सहकारीको विषयमा जागरुक गराउन समेत पहल गर्ने बताउनुभयो । सहकारी एकीकरणका लागि सहकारी अभियान र सरकारले सहकार्य गरेर अघि बढ्ने बताउँदै भन्नुभयो,‘सहकारी क्षेत्र आतंकित हुने अवस्था आउन दिने छैन । सहकारीको प्रवद्र्धनका लागि साथ र सहयोग हुने छ । मलाई घर फर्केको अनुभव भएको छ ।’


महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी ऐन २०७४का केही विषय संशोधन गर्न महासंघले मन्त्रालयलाई सुझाव दिएको बताउँदै त्यसलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । सरकारले ल्याउने सहकारी सम्बन्धी कार्यविधिहरु निर्माण गर्दा अभियानसँग छलफल गर्ने वातावरण समेत तयार गरिदिन उहाँले अनुरोध गर्नुभयो ।
महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले सहकारीलाई सबै क्षेत्रमा योगदान दिन सक्ने बनाउनका लागि ४७ वटा ऐनहरुलाई केही नेपाल ऐन संशोधन गर्ने विधेयकका रुपमा लैजान अध्ययन गरेर सुझाव दिएको बताउँदै त्यसका लागि सचिवबाट पहल भएको खण्डमा सहकारीमा ठूलो सकारात्मक परिवर्तन हुने बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी बुझेको सचिव पाएको खुसी व्यक्त गर्नुभयो । उहाँले सहकारी आफ्नै ब्राण्ड बनाउने तयारी भइरहेको जानकारी गराएादै सहकारी विषयलाई स्कुलदेखि विश्वविद्यालयसम्म पठनपाठन गराउनका लागि पहल भइरहेको विषय जानकारी गराउनुभएको थियो ।
सो कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको गतिविधिको विषयमा प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष रमेश पोखरेल, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक तथा केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेम बहादुर पाठक, सञ्चालकहरु डि।बी। बस्नेत, टीका बुढाथोकी, टेक प्रसाद चौलागाईं, राजेन्द्र पौडेल, सागर ढकाल, नायब महाप्रबन्धक बाबुल खनाललगायतले सचिव न्यौपानेलाई स्वागत गर्नुभएको थियो ।
गत आइतबार बसेको मन्त्रीपरिषद् बैठकले न्यौपानेलाई मन्त्रालयमा सरुवा गरेको थियो । यसअघि उहाँ काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो ।

Share This: