नेफ्स्कुन चुनावका लागि रणनीतिक योजना सहित जाने तयारी
काठमाडौं, २५ कार्तिक । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आउँदो चुनावका लागि नेशनल कोअपरेटर्स एलाईन्स पक्षले रणनीतिक योजना सहित अघि बढ्ने निर्णय गरेको छ ।
एलाईन्स पक्षधर सहकारीकर्मीको बिहीबार मनमैजुमा सम्पन्न भेलाले नेफ्स्कुनको चुनाव लक्षित गरी रणनीतिक योजना सहित अघि बढि सफलता हासिल गर्ने निक्र्यौल गर्यो । भेलाले नेफ्स्कुनको चुनावका लागि राजेन्द्र पौडेलको संयोजकत्वमा चुनाव समन्वय कमिटी गठन गरेको छ । भेलाले चुनावी योजना तयार पार्नुका साथै अन्य विचारका प्रतिनिधिसँग सहकार्य गरी चुनावमा विजयी हुनेगरी सहभागी हुन टिम तयार गर्ने जिम्मा समितिलाई दिएको छ । समितिमा सोमनाथ सिग्देल, कमलराज अधिकारी र मनोज भण्डारी सदस्य रहेका छन् भने अन्य जिल्लाको प्रतिनिधि थप गरी चुनावी गतिविधि व्यापक बनाउने निर्णय भेलाले गरेको छ ।
छलफलमा एलाईन्स पक्षको बलियो उपस्थिती रहेको आँकल गर्दै चुनाव आफ्नो पक्षमा पार्न क्रियाशील हुने निर्णय गरेको छ । साथै भेलाले एलाईन्ससम्बद्व सहकारीकर्मीलाई क्रियाशील हुन आह्वानसमेत गरेको छ ।
भेलामा नेशनल कोअपरेटर्स एलाईन्सका महासचिव चन्द्र ढकाल, कोषाध्यक्ष मोहन बस्नेत, सचिव राजेन्द्र पौडेल, केन्द्रीय सदस्यहरु गोविन्द काफ्ले, कमलराज अधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै काठमाडौंका सबै क्षेत्रीय संयोजक र सहसंयोजक, काभ्रे, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकका सहकारीकर्मीको उपस्थिती रहेको थियो ।