सहकारी नै दिगो अर्थतन्त्र, सामाजिक न्याय र विकासको मौलिक मोडेलः प्रचण्ड


काठमाडौं,पुस,२९ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभामा बोल्दै प्रचण्डले संविधानले नै सहकारीलाई उच्च स्थान दिएकोमा खुसी व्यक्त गर्दै सहकारीले अर्थतन्त्रमा लिड गर्न सक्नुपर्ने बताउनुभयो । ‘संविधानले सहकारीलाई एउटा यस्तो माध्यमको रुपमा परिभाषित गरेको छ जसले समाजमा सामाजिक न्याय र विकासको एउटा मौलिक मोडेल प्रदान सक्छ ।’ उहाँले भन्नुभयो ।

सामाजिक विकास र समृद्धिलाई मध्यनजर गरी व्यापक जनताको सहभागिता सुनिश्चित गर्न नै स्थानीय तहदेखि प्रदेश र संघसम्मको सरकारी संरचनाको परिकल्पना गरिएको उहाँले बताउनुभयो ‘ अर्थतन्त्रमा सहकारीको भूमिका असाध्यै महत्वपूर्ण भएर आएको भएपनि सहकारीले त्यसअनुरुप काम गर्न अझै नसकेको उहाँको भनाई थियो । ‘हामीले धेरै धनी राष्ट्रलाई हेरेका छौं र उनीहरुको विकासको पछाडी पनि सहकारीको धेरै ठूलो भूमिका रहेको हामी देख्न सक्दछौं ।’ उहाँले भन्नुभयो । अमेरिका जस्ता शक्तिशाली र धनी राष्ट्रिहरुमा पनि सहकारीको भूमिका असाधै महत्वपूर्ण भएको भन्दै नेपालमा पनि सहकारीमार्र्फत आर्थिक संमृद्वि हासिल गर्न सकिने बताउनुभयो ।

विकसित देशहरुमा पनि सहकारी आन्दोलन मार्फत नै समाजमा स्थीरता र सन्तुलन कायम गरेको उहाँको भनाई थियो । राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अग्रसर भएको र त्यसका लागि सहकारी महत्वपूर्ण आधार भएको उहाँको भनाई थियो । राज्यले मात्रै देश विकास गर्न भन्दै अध्यक्ष प्रचण्डले नीजि क्षेत्र र सहकारी क्षेत्रको सहभागितामा आर्थिक विकास संभव भएको बताउनुभयो । जनतासंग रहेको श्रम, शीप र पूँजिको सही परिचालन सहकारीबाट मात्रै संभव रहेको उहाँको भनाई थियो ।

१३ वटा सहकारी मर्ज भई हाल १९ वटा सेवा केन्द्रहरु मर्फत हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले देशभरी आफ्नो सेवा केन्द्र स्थापित गरी जनतालाई सेवा दिने प्रयत्न गरेको भन्दै उहाँले प्रसंशा गर्नुभयो । राज्यले सहकारीमार्फत परिचालन गर्ने बजेट सहकारी मार्फत परिचालन गर्न सके अझै प्रभावकारीता बढ्ने उहाँले धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले देशमा विद्यमान गरिवीको न्यूनिकरण नहुनुमा कसको कमजारी छ ? भन्ने खोजेर सहकारी क्षेत्रले गरिबी निवारणका कार्यक्रम अगाडि ल्याउन आव्हान गर्नु भयो । सहकारीमा भएको स्रोत साधनलाई अब समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न आग्रह गर्नु भयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रम बहादुर थापा, नव निर्वाचित जनप्रतिनिधिहरु पशुपति चौलागाई (प्रदेश सभा सदस्य),केशब पोखरेल (प्रदेश सभा सदस्य), मनोज घिमिरे (नगरपालिका वडा अध्यक्ष), महेश रिमाल (नगरपालिका वडा अध्यक्ष, जगन्नाथ ढकाल (नगरपालिका वडा अध्यक्ष) लगायतले सहकारीलाई राज्यले अर्थतन्त्रको ३ मध्ये एक खम्बाका रुपमा ग्रहण गरेजस्तै यसको विकासका लागि पनि ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

साधारणसभाले सहकारीले प्रगति प्रतिवेदन, नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन पारित गर्नुका साथै सहकारी ऐनमा उल्लेख भएको कर सम्बन्धी प्रावधानलाई आर्थिक विधेयकमा समावेश गरी कार्यान्वयन गर्न जोड दिएको थियो ।

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को कारोबारबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा अध्यक्ष के.बी उप्रेतीले प्रगति प्रतिवेदन,नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष के.बी उप्रेतीको अध्यक्षता, लेखा समिति संयोजक राजु पौडेलको सञ्चालन, उपाध्यक्ष शिव कट्टेलको स्वागतमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर