‘सहकारी पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्षम छन्’


बिर्तामोड । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडाले सहकारी संस्थाले सरकारी र निजी प्रतिष्ठानहरुसँग प्रतिष्पर्धा गर्ने दिन नजिकिन लागेको बताउनुभएको छ ।

झापा जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले बिर्तामोडमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक अन्तरक्रियामा डा. खतिवडाले यस्तो धारणा राख्नुभएको हो ।

‘सहकारी संस्थाहरुको प्रवद्र्धन र विकासमा स्थानीय तहको भूमिका’ शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै पूर्व गभर्नर डाक्टर खतिवडाले २३ सय अर्ब पूँजी परिचालन गर्ने बैंक तथा वित्तीय संस्थाको तुलनामा ३०० अर्बमात्र पूँजी रहेको सहकारीबाट जनताले धेरै अवसर र सुविधा प्राप्त गर्दै आएको बताउनुभयो ।

आफ्नो प्रस्तुतिका क्रममा उहाँले स्थानीय तहबाट नै सहकारी दर्ता, नियमन र नियन्त्रणको व्यवस्था भएबाट अब जनप्रतिनिधिहरुले सहकारीलाई अवसरको रुपमा अंगालेर आर्थिक समृद्धितर्फ डोहोर्याउनु पर्ने आवश्यकता औंल्याउनुभयो ।

झापा क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रियामा झापाका १५ वटै स्थानीय तहका प्रमुख–उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख एवम् प्रदेशसभाका सांसदहरु सहभागी थिए ।

अन्तरक्रियामा अर्का कार्यपत्र प्रस्तोता नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले ‘सहकारी ऐन २०७४, तीनवटै तहका सरकारको प्रभाव र अभिप्राय’ विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारी ऐन २०७४ का प्रावधान तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सहकारी व्यवसायलाई कसरी एकाकार गरेर अघि बढाउने भन्ने विषयमा सहजीकरण गर्नुभयो ।

कार्यपत्र प्रस्तोता पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्थाले खेल्नुपर्ने भूमिका तथा स्थानीय तहले सहकारीलाई गर्ने नियन्त्रण एवम् नियमनको पाटोमा प्रकाश पार्नुभएको थियो ।

जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गर्नुभएको थियो । कार्यक्रमको औचित्यमाथि जिल्ला संघका उपाध्यक्ष महेन्द्रकुमार गिरीले प्रकाश पारेका थिए भने नेफ्स्कुनका जिल्ला अध्यक्ष घनश्याम अधिकारीले स्वागत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न