भरतपुर, कावासोती र नवलपुरमा शाखा खोल्न राष्ट्रिय सहकारी बैंकले पायो स्वीकृति
ललितपुर, १३ फागुन । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा दिने उदेश्यले थप तीनवटा शाखा विस्तारका लागि स्वीकृति प्राप्त गरेको छ ।
बैंकले फागुन १० गते नेपाल राष्ट्र बैंकबाट थप ३ वटा शाखा सञ्चालनको अनुमति प्राप्त गरेको हो । सहकारी विभागको सहमतिमा राष्ट्र बैंकले सहकारी बैंकलाई थप ३ शाखा सञ्चालनका लागि अनुमति दिएको हो ।
राष्ट्र बैंकले चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा शाखा सञ्चालनको अनुमति दिएको हो ।
यस अघि गत कात्तिकमा बैंकले ४ वटा शाखा सञ्चालनको अनुमति पाएको थियो । कात्तिकमा स्वीकृति पाएका धनकुटा जिल्लाको धनकुटा बजार, पाँचथर जिल्लाको फिदिम, सर्लाही जिल्लाको हरिवन र महोत्तरी जिल्लाको बर्दिवासमा शाखा सञ्चालनको काम अन्तिम चरणमा पुगेको बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले जानकारी दिनुभयो ।
२०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भई २०६१ साउन १९ गतेदेखि कारोबार शुरु गरेको राष्ट्रिय सहकारी बैंकले २०६७ साउन १० गतेदेखि नेपाल राष्ट्र बैंकबाट सिमित बैकिङ कारोबारको स्वीकृति पाएको थियो ।
सहकारी विभाग र नेपाल राष्ट्र बैंकको नियमन र अनुगमनमा सञ्चालन भैरहेको सहकारी बैंकका हाल ३७ शाखा र एक कर्पोरेट गरी ३८ स्थानबाट कारोबार सञ्चालन भैरहेको छ ।
यसै आर्थिक वर्षदेखि बैकले ४४ शाखा र १ कर्पोरेट कार्यालय सहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्ने भएको छ ।
देशभरका करिब १० हजार सहकारी संघ संस्था सदस्य रहेको सहकारी बैंकमा नेपाल सरकारको १ करोड सहित ९५ करोड शेयर रकम, १४ अर्ब निक्षेप, ११ अर्ब कर्जा लगानी रहेको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिनुभयो ।
बैंकले आव २०७५/०७६ को अन्त्यसम्म १६ हजार शेयर सदस्य, २ अर्ब शेयर रकम, २० र कर्जा लगानी १६ अर्ब पु¥याउने लक्ष्य लिएको छ ।