बहुउद्देश्यीय केन्द्रीय संघको चुनाव सहकारीक्षेत्रकै सर्वाधिक महंगो


काठमाडौं । सामान्यतयाँ कुनै पनि संघसंस्थाको चुनाव हुदाँ उम्मेदवार मनोनयन शुल्क एक दुई हजार उठाउने गरिएको हुन्छ । खासगरी सहकारी क्षेत्रको निर्वाचनका क्रममा बढीमा दुईहजारसम्म उम्मेदवार शुल्क लिने गरिएपनि हालै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नयाँ नेतृत्व चयन गर्ने क्रममा उम्मेदवारबाट प्रचलनको कैयौं गुणा शुल्क उठाइएको छ ।

 

गत शनिबार संघको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । उक्त निर्वाचन सहकारी क्षेत्रमा सर्वाधिक महंगो भएको भन्दै सहकारीक्षेत्रमा वर्ग विभाजन भएको चर्चा गरेका छन् । सहकारीका नेताहरुले बहुउद्देश्यीय केन्द्रीय संघमा सर्वाधिक उम्मेदवार शुल्क उठाएर सहकारी क्षेत्रमा विकृति भित्राएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

 

संघले अध्यक्षको उम्मेदवारीट शुल्क ५० हजार र फारम शुल्क एक हजार निर्धारण गरेको थियो । त्यस्तै अन्य पदाधिकारी (उपाध्यक्ष, सचिव, कोषाध्यक्ष)को उम्मेदवारी शुल्क ३० हजार र सदस्यको २० हजार शुल्क लिइएको थियो ।

 

तर सहकारीका अन्य शीर्षस्थ निकायमा अध्यक्षका उम्मेदवार बन्नका लागि दुई हजार भन्दा बढी शुल्क लिने व्यवस्था थिएन । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)को नयाँ निर्वाचनका क्रममा अध्यक्षमा दुई हजार र सदस्यमा एक हजार उम्मेदवार शुल्क लिने गरेको पाइन्छ ।

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा निजी क्षेत्रका निकायजस्तै उम्मेदवार शुल्क लिदाँ सहकारी क्षेत्रमा विकृति बढ्न सक्ने सहकारीकर्मीले चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अध्यक्षका लागि एक लाख र अन्य पदाधिकारीका लागि ५० हजार उम्मेदवार शुल्क लिने गरेको छ ।

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका नवनिर्वाचित सचिव माधव तिमिल्सिनाले हिमालयन होटलमा आयोजना गरेको कार्यक्रमको खर्च उठाउनका लागि उम्मेदवार शुल्क बढी लिइएको बताउनुभयो । ‘अन्य स्रोतबाट लिनुभन्दा निर्वाचित हुने पदाधिकारीबाट पुर्ती गर्नका लागि उम्मेदवार शुल्क निर्धारण गरिएको हो’ उहाँले भन्नुभयो ।

 

निर्वाचन उपसमिति संयोजक रामदत्त ओझाले सञ्चालक समितिको निर्देशनअनुसार अधिवेशन व्यवस्थापन गर्नेगरी निर्वाचन शुल्क निर्धारण गरिएको बताउनुभयो । ‘निर्वाचनको प्रक्रिया पूरा गर्नका लागि निर्धारण गरिएको शुल्क अस्वभाविक होइन, त्यो निर्वाचन उपसमितिले खाने पनि होइन’ उहाँले भन्नुभयो ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेतले बैंकजस्तै वित्तीय क्षेत्रमा कारोबार गर्ने सहकारीका विभिन्न निकायले उम्मेदवार शुल्क उठाउन नहुने बताउनुहुन्छ । ‘सहकारी क्षेत्रमा निजी क्षेत्रको जस्तो अभ्यास गर्न हुँदैन’ उहाँले भन्नुभयो ।

 

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मीनराज कँडेलले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको उम्मेदवारी शुल्कमा त्यतिधेरै उम्मेदवारी शुल्क उठाउनु उचित नभएको बताउनुभयो । ‘ठूलो परिणाममा राख्नुभएको रहेछ, यो राम्रो भएन, यो सुहाउने काम भएन ।’

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न