सहकारीका कर्मचारी फूर्सदिला
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा रहेको डिभिजन सहकारी कार्यालयका कर्मचारी फूर्सदिलो बनेका छन् । सहकारी विभागले अर्को व्यवस्था नहुञ्जेलसम्म कुनै काम कारवाही नगर्नु भनी परिपत्र गरेकाले डिभिजन सहकारीका कर्मचारी कामबिहिन बनेका हुन् ।
कार्यालयका नायब सुब्बा धनराज गिरीका अनुसार कार्यालयबाट हुँदै आएको नयाँ सहकारी दर्ता, लेखा परीक्षक नियुक्तिका लागि अनुमति, पुराना सहकारीका जग्गा फुकुवा लगायतको काम गत कात्तिकदेखि रोकिएको हो ।
अहिले सहकारी संस्थाले बुझाउन ल्याएका मासिक तथा वार्षिक प्रतिवेदन बुझ्ने र सहकारी संघसंस्थाको वार्षिक साधारण सभामा उपस्थित हुने बाहेक अरु कुनै काम हुन नसकेको नायब सुब्बा गिरीले जानकारी दिनुभयो ।
१२ कर्मचारीको दरबन्दी रहेको कार्यालयका प्रमुख बिकाउ यादव विभागमै काज सरुवा गराएर बस्नु भएको छ । कार्यालय प्रमुख बिहिन सहकारी कार्यालयमा हाल २ नायब सुब्बा, एक लेखापाल, एक खरिदार, एक कम्प्यूटर अपरेटर र एक सहयोगी कात्तिक यता दिनभर कार्यालय कुर्ने र घर फर्किने गरेका छन् ।
डिभिजन सहकारी कार्यालयले कुनै काम नगर्ने र स्थानीय तहबाट समेत काम सूरु नहुँदा समस्या भैरहेको जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरेले बताउनुभयो ।