स्थानीय तहलाई सहकारी हस्तान्तरण प्रक्रिया सुरु


 

दमौली । स्थानीय तहलाई सहकारी हस्तान्तरण प्रक्रिया शुरु भएको छ । संघीय संरचना अनुसार सबै स्थानीय तहले सहकारीको काम गर्ने भएका छन् ।सहकारी नियमनसम्बन्धी काम तनहुँका स्थानीय तहको जिम्मामा लगाउने प्रक्रिया सुरु भएको छ । उक्त प्रक्रियाअन्तर्गत घिरिङ गाउँपालिकामा सहकारीसम्बन्धी सबै कागजात जिम्मा लगाइएको छ । सहकारी डिभिजनले आयोजना गरेको सहकारी ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रमका क्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीको उपस्थितिमा सम्पूर्ण कागजपत्र गाउँपालिका अध्यक्ष रनबहादुर रानालाई हस्तान्तरण गरे ।

यससँगै सहकारीको व्यवस्थापन र नियमनको काम अब स्थानीय तहको जिम्मेवारीमा पुगेको छ । स्थानीय तहलाई दिइएको अधिकारमा सहकारी क्षेत्रको व्यवस्थापनसमेत पर्छ । चैतको पहिलो सातासम्म सबै तहको जिम्मेवारी स्थानीय सरकारको मातहतमा पठाइसकिने सहकारी डिभिजन प्रमुख नारायण कार्कीले बताए ।

कार्यालयले जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई सहकारी ऐनबारे अभिमुखीकरणसमेत गरेको छ । स्थानीय तहको सरकार स्थापना भएपछि सबै काम उनीहरूकै जिम्मामा पर्ने भएकाले सहकारी ऐन र सहकारीसम्बन्धी जानकारी दिएर हस्तान्तरण गरिन लागिएको डिभिजनका प्रमुख कार्कीले बताए ।डिभिजनले आठवटै तहलाई सहकारीको तथ्यांक र आवश्यक जानकारी दिएर सबै काम स्थानीय तहको जिम्मा लगाउन लागेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तह सहकारीको व्यवस्थापनमा सक्षम हुने विश्वास गरे । उनले सहकारीको महत्व बढिरहेको बताए ।कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले स्थानीय तहले कुशलतापूर्वक सहकारीको व्यवस्थापन गर्ने अपेक्षा गरे ।केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले सहकारीको महत्व धेरै रहेको उल्लेख गरे । उनले स्थानीय सरकार पनि सहकारीको नियमनमा गम्भीर हुने अपेक्षा गरे ।सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले सहकारी ऐनअनुसार स्थानीय तहले काम गर्ने अपेक्षा गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर