सदस्यको जीवनस्तर उकास्दै जनसचेतन सहकारी
दोलखा । जिल्लाको मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारीको पछिल्लो तथ्याङक अनुसार सहकारीको सदस्य भएपछि १० प्रतिशत गरिबी घटेको देखिएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार दैनिक १ हजारभन्दा कम आय भएका सर्वसाधारण सहकारीमा लागेर व्यवसाय गरेपश्चात ४२.४ प्रतिशतबाट ३२ प्रतिशतमा सीमित हुन पुगेको छ । व्यावसायमा संलग्न भएपश्चात १० हजारसम्म आय हुनेको संख्या ४३.२ प्रतिशतबाट बढेर ५२.८ प्रतिशत पुगेको छ । व्यावसायमा लागेपश्चात २० हजार भन्दा बढी कमाउने सदस्यको संख्या ६.४ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ ।
जनसचेतनका अध्यक्ष भीमप्रसाद दाहालले सदस्यको संंमृद्विकोलागि लगानीमा प्राथमिकता दिदैँ आएको बताउनुभयो । उहाँले सबैभन्दा धेरै सदस्य व्यापार व्यवसायमा लागेको बताउनुभयो । जनसचेतन साकोसका करिब १६ प्रतिशत सदस्य व्यापार व्यवसायमा लागेका छन् भने २ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लागेका छन् । ‘हामी सदस्यको संंमृद्विकालागि उत्पादनतर्फ फोकस गरिरहेका छौं तर सदस्यले व्यवसायिक भएर करोडौं लगानी गर्न सकिरहेका छैनन्’ उहाँले भन्नुभयो ।
व्यवसाय नभएका ६१ दशमलव ५४ प्रतिशत सर्वसाधारण सहकारीमा लागेपछि झण्डै आधा भन्दा बढी सदस्य उद्यमशील भएका छन् । सदस्यपश्चात व्यवसाय नभएका ६१.५४ बाट घटेर ३७.६० प्रतिशत पुग्यो भने व्यवसाय भएका ३८.६४ बाट ६२.४० बढेको संस्थाको तथ्याङकले देखाउँछ ।
२५ वर्षअघि ३४ जनाले ३४०० जम्मा गरेर स्थापना भएको संस्थाले हाल १ अर्ब ६ करोड शेयर पुँजी पु¥याएको छ । संस्थाले सदस्यलाई ३० लाखसम्म ऋण दिने गरेको अध्यक्ष दाहालले बताउनुभयो । एक करोडसम्म औद्योगिक ऋण प्रवाह गर्न सकिने संस्थाको रणनीति भएपनि जिल्लामा त्यसरी उद्योग खोल्न कोही सदस्य इच्छुक नभएको उहाँको भनाई छ । ‘तर सदस्यको आर्थिक हैसियत बढेको छ, निर्वाहमुखी जीवनबाट व्यवसायिक बन्न सफल भएका छन्’ उहाँले भन्नुभयो ।
संस्थाले नीति र कार्यविधि बनाएर कारोबार सञ्चालन गर्दै आएको छ । अध्यक्ष दाहालले ३६ वटा नीति र २६ वटा कार्यविधि बनाएर संस्था सञ्चालन गर्ने गरेको बताउनुभयो । संमृद्व सदस्य र सबल संस्थाका लागि बचत तथा ऋणमा मात्र नभई सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि काम गर्ने गरेको उहाँले बताउनुभयो । संस्थाले मोबाइल बैंकिङ, एटिएमलगायतको प्रविधि सुरु गरिसकेको छ ।
जनसचेतन एशियाली ऋण महासंघ अक्कुबाट एक्सेसप्राप्त सहकारी हो ।