उद्यमशीलताको विकास गर्दै दोलखाका बचत सहकारी


तुलसी सुवेदी

दोलखा । ग्रामीण क्षेत्रका सहकारीले उद्यमशीलताको विकास गरी गरिबी घटाउँदै लगेका छन् । जिल्लामा क्रियाशील सहकारीले सदस्यलाई व्यवसायिकता बनाउन सस्तोमा ऋण प्रवाह गरिरहेका छन् । यहाँका सहकारीले सदस्यको आवश्यकता अनुसार ऋण लगानी गरी गरिबी घटाउन उल्लेख्य भूमिका निर्वाह गरेका हुन् । यहाँका साकोस (बचत तथा ऋण सहकारी) सहकारीले सदस्यको उद्यमशीलता  बढाउनका लागि लगानीमा प्राथमिकता दिदैँ आएका छन् ।

 

 

 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था चरिकोटले आफ्ना सदस्यले उत्पादन गरेको सामान बिक्रीका लागि सहजिकरण गर्दै आएको छ । ‘हामी संदस्यलाई उत्पादनमैत्री बनाउन पहल गरिरहेका छौं, उहाँहरुको उत्पादन बिक्री गर्न हामी सहजिकरण गर्छाैै’ संस्थाका व्यवस्थापक दीपक बस्नेतले बताउनुभयो ।

 

संस्थाले प्रत्यक्ष बिक्री वितरण नगरेपनि सदस्यका उत्पादनहरु कोसेली घरमार्फत बिक्री गर्दै आएको उहाँको भनाई छ । संस्थाले सदस्यलाई सीपमुलक तालिमसमेत दिनुका साथै बिक्रीवितरणमा टेवा पु¥याउँदै आएको छ । ‘सदस्यको मागका आधारमा विभिन्न खालका सीपमूलक तालिमको आयोजना गर्छाै, उहाँहरुले उत्पादन गरेको सामान पनि बिक्री गर्छौ’ उहाँले भन्नुभयो ।

 

व्यवस्थापक बस्नेतले सदस्यद्वारा उत्पादित सामानहरु मखलर, आउटर, स्वीटर, टोपी, मोजा, लेडिज मखलरलगायतका सामाग्री बिक्रीका लागि सहजिकरण गर्ने गरेको बताउनुभयो ।

 

संदस्यको व्यवसायिकताका लागि १५ दिने, एक महिने, तीन महिनेलगायतका सीपमूलक तालिम दिदैँ आएको छ । २० वर्षअघि स्थापना भएको संस्थाको ६ हजार १३७ सदस्य पुगेका छन् । आर्थिक वर्ष २०७३/७४ मा संस्थाको कुल सम्पत्ति तथा दायित्व ३५ करोड ४५ लाख ३५ हजार ३०७ रुपैँया पुगेको छ । संस्थाको २७ करोड ९७ लाख ९३ हजार निक्षेप संकलन गरी २७ करोड ६१ लाख ९१ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ। संस्थाको चुक्ता पुँजी ३ करोड ८६ लाख ५३ हजारु ५ सय पुगेको छ ।

 

एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था जिरीका करिब ६० प्रतिशत सदस्य उत्पादनतर्फ संलग्न छन् । कृषि उपज तथा पशुपालनतर्फ अधिकांश सदस्य संलग्न रहेको अध्यक्ष नरबहादुर जिरेलले बताउनुभयो । सदस्यको उत्पादन बिक्रीको समस्या नरहेको उहाँको भनाई छ । धेरैजसो सदस्यले किबी, आलु, चिज उत्पादन गर्ने गरेको अध्यक्ष जिरेलले बताउनुभयो ।

 

पहिला संस्था आफैंले बिक्री वितरण गर्ने गरेपनि पछिल्लो समयमा संस्था एक्सेसमा गएपछि सहकारी बचत तथा ऋणमा मात्र केन्द्रीत भएको छ । संस्था केही वर्षअघि नौ वटा र पछिल्लो समयमा २ वटा संस्था एकीकरण भई एकीकृति फ्रेन्डसिप सहकारी स्थापना भएको हो । संस्थाले ७० करोड ७४ लाख ६४ हजार १५६ रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ६९ लाख ४१ हजार १ सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको शेयर पुँजी ८ करोड ३४ लाख ४८ हजार पुगेको छ । संस्थाका ८ हजार २ सय ७३ जना सदस्य छन् । एकीकृत फ्रेन्डसिप प्रोवेसन ब्रान्डको तयारीमा जुटेको छ ।

 

मिलिजुली बचत तथा ऋण सहकारी संस्था चरिकोटको ५६ जना सदस्यले ५६०० शेयर पुँजी जम्मा गरेर २४ वर्षअघि स्थापना भएको थियो । संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले संस्था बलियो बनाउनका लागि रिजर्व फन्डमा जोड दिइएको बताउनुभयो । संस्था बलियो बनाउन संस्थागत पुँजी बढाउन र भाखा नाघेको ऋण घटाउन सक्रिय भएको उहाँको भनाई छ । संस्थाले सिल्भर तथा गोल्ड ब्राण्ड पाउन तयारी गरिरहेको छ । अध्यक्ष श्रेष्ठले यस वर्ष नै सिल्भर या गोल्ड ब्रान्ड पाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

 

जिल्लाको मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारीको पछिल्लो तथ्याङक अनुसार सहकारीको सदस्य भएपछि १० प्रतिशत गरिबी घटेको देखिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार दैनिक १ हजारभन्दा कम आय भएका सर्वसाधारण सहकारीमा लागेर व्यवसाय गरेपश्चात ४२.४ प्रतिशतबाट ३२ प्रतिशतमा सीमित हुन पुगेको छ । व्यावसायमा संलग्न भएपश्चात १० हजारसम्म आय हुनेको संख्या ४३.२ प्रतिशतबाट बढेर ५२.८ प्रतिशत पुगेको छ । व्यावसायमा लागेपश्चात २० हजार भन्दा बढी कमाउने सदस्यको संख्या ६.४ प्रतिशतबाट बढेर ८ प्रतिशत पुगेको छ ।

 

जनसचेतनका अध्यक्ष भीमप्रसाद दाहालले सदस्यको संंमृद्विकोलागि लगानीमा प्राथमिकता दिदैँ आएको बताउनुभयो । उहाँले सबैभन्दा धेरै सदस्य व्यापार व्यवसायमा लागेको बताउनुभयो । जनसचेतन साकोसका करिब १६ प्रतिशत सदस्य व्यापार व्यवसायमा लागेका छन् भने २ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लागेका छन् । ‘हामी सदस्यको संंमृद्विकालागि उत्पादनतर्फ फोकस गरिरहेका छौं तर सदस्यले व्यवसायिक भएर करोडौं लगानी गर्न सकिरहेका छैनन्’ उहाँले भन्नुभयो ।

 

व्यवसाय नभएका ६१ दशमलव ५४ प्रतिशत सर्वसाधारण सहकारीमा लागेपछि झण्डै आधा भन्दा बढी सदस्य उद्यमशील भएका छन् । सदस्यपश्चात व्यवसाय नभएका ६१.५४ बाट घटेर ३७.६० प्रतिशत पुग्यो भने व्यवसाय भएका ३८.६४ बाट ६२.४० बढेको संस्थाको तथ्याङकले देखाउँछ ।

 

२५ वर्षअघि ३४ जनाले ३४०० जम्मा गरेर स्थापना भएको संस्थाले हाल १ अर्ब ६ करोड शेयर पुँजी पु¥याएको छ । संस्थाले सदस्यलाई ३० लाखसम्म ऋण दिने गरेको अध्यक्ष दाहालले बताउनुभयो । एक करोडसम्म औद्योगिक ऋण प्रवाह गर्न सकिने संस्थाको रणनीति भएपनि जिल्लामा त्यसरी उद्योग खोल्न कोही सदस्य इच्छुक नभएको उहाँको भनाई छ ।

 

‘तर सदस्यको आर्थिक हैसियत बढेको छ, निर्वाहमुखी जीवनबाट व्यवसायिक बन्न सफल भएका छन्’ उहाँले भन्नुभयो ।  संस्थाले नीति र कार्यविधि बनाएर कारोबार सञ्चालन गर्दै आएको छ । अध्यक्ष दाहालले ३६ वटा नीति र २६ वटा कार्यविधि बनाएर संस्था सञ्चालन गर्ने गरेको बताउनुभयो । संमृद्व सदस्य र सबल संस्थाका लागि बचत तथा ऋणमा मात्र नभई सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि काम गर्ने गरेको उहाँले बताउनुभयो । संस्थाले मोबाइल बैंकिङ, एटिएमलगायतको प्रविधि सुरु गरिसकेको छ ।

 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले एशियाली ऋण महासंघ (अक्कु)को सहकार्यमा देशका बचत तथा ऋण (साकोस)हरुको ब्रान्ड गर्दै आएको छ । हालसम्म देशभरका १९ वटा संस्थाले एक्सेस ब्रान्ड पाइसकेका छन् । त्यसमा दोलखामा मात्र तीन वटा संस्थाले एक्सेस ब्राण्ड पाएका छन् । त्यसमा हाम्रो जनकल्याण, मिलिजुली र जनसचेतन साकोस हुन भने जनसचेतन साकोसले सिल्भर ब्रान्ड पाएको छ ।

 

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले सदस्यको जीवनस्तर सुधार गर्न सहकारी तल्लिन रहेको बताउनु भयो । सदस्यको आवश्यकता अनुसार उत्पादनमुलक, व्यवसाय, सामाजिकलगायतका क्षेत्रमा ऋण प्रवाह गर्ने गरेको बताउनुभयो ।

 

सहकारीले सर्वसुलभ तरिकाले ऋण उपलब्ध गराउँदै सर्वसाधारणको जीवनस्तर सुधार गरेको उहाँको भनाई छ । एक्सेस ब्रान्डमा गएपछि संस्थाको गुणस्तरमा समेत वृद्वि भएको उहाँको भनाई छ । दोलखाका तीनवटा एक्सेस ब्रान्डमा पाँचवटा प्रोबेसन कार्यक्रममा र २७ वटा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रममा सहभागी भएका छन् ।

 

दोलखामा ५ सय २३ वटा संस्था स्थापना भएका छन् । त्यसमा १ लाख ८६ हजार मानिस आबद्व भएका छन् ।

 

जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जीवसराज खड्काका अनुसार दोलखामा स्थापना भएका सहकारीले ५ अर्ब रुपैयाँ बचत गरी ५ अर्ब ३० करोड लगानी गरेका छन् । जिल्लाका संस्थाको शेयर पुँजी ७० करोड पुगेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन