सहकारीमा सम्पत्ति सुद्विकरण त्रासको विषय होइन–ढकाल


काठमाडौं । सहकारी हकहित राष्ट्रिय समाजले एक्सठ्ठीऔं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आज राजधानीमा सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वर स्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार एवं सहकारी विज्ञ सुदर्शन प्रसाद ढकालले ‘सहकारीमा सम्पत्ति शुद्धीकरणः व्यवस्थापनको जिम्मेवारी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यपत्र प्रस्तुत गर्दै नेपाल सरकारका पूर्व सहसचिव समेत रहनुभएका ढकालले सम्पत्ति शुद्धीकरणको विषय गम्भीर भएपनि सहकारी संस्थाहरु यसबाट आत्तिनु पर्ने अवस्था नरहेको धारणा राख्नुभयो । सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन गराउन विभागले जारी गरेको निर्देशनले विषयलाई जटिल रुपमा प्रस्तुत गरेकाले सहकारीमा यसबारे अनावश्यक त्रास पैदा भएको उहाँको विश्लेषण थियो ।

 

सम्पत्ति शुद्धीकरण निवारण ऐन सहकारीमा मात्र नभई व्यक्ति र गैर सरकारी संस्थाहरुमा पनि लागू हुने जानकारी दिँदै उहाँले श्रोत नखुलेको पैसा सहकारीले शेयर वा बचतको रुपमा स्वीकार्न नहुने स्पष्ट पार्नुभयो । कतिपय सहकारी संस्थाले ठूला बैंक र वित्तीय संस्थाहरुले जस्तै एउटै व्यक्तिबाट करोडौं रुपैयाँ समेत निक्षेप लिने गरेको अनुभव सुनाउँदै उहाँले यसो नगर्न सचेत गराउनुभयो ।

‘सहकारी समुदायमा आधारित संस्था हो, त्यसैले यसले आफू र अन्य वित्तीय क्षेत्रबिचको फरक छुट्टयाउन सक्नुपर्छ ।’ उहाँले थप्नुभयो, ‘आज करोडौं रुपैयाँ बचत गर्नेले भोलि नै पैसा फिर्ता माग्न पनि सक्छ । यसबाट संस्था वित्तीय जोखिममा पर्ने खतरा हुन्छ ।’

 

पूर्व रजिष्ट्रार ढकालले सहकारी ऐन, २०७४ ले व्यवस्था गरेबमोजिम सदस्यबाट शेयर पूँजीको अनुपातमा कति गुणा सम्म बचत संकलन गर्ने भन्ने स्पष्ट कार्यविधि बनाउन सहकारी संस्थाहरुलाई सुझाव दिनुभयो ।

 

कार्यपत्र मार्फत सम्पत्ति शुद्धीकरणको आधारभूत जानकारी दिनुका साथै पूर्व सहसचिव ढकालले सम्पत्ति शुद्धीकरणका लागि प्रयोग हुने प्रमुख माध्यमहरु, गैरकानुनी तवरले सम्पत्ति आर्जित हुने क्षेत्रहरु र सहकारीमा सम्पत्ति शुद्धीकरणले निम्त्याउने जोखिमबारे उल्लेख गर्नुभयो ।

 

त्यसैगरी उहाँले सहकारीमा सम्पत्ति शुद्धीकरण हुन नदिनका लागि संस्थाहरुले अवलम्वन गर्नुपर्ने उपाय तथा व्यवस्थाबारे चर्चा गर्दै जोखिमको सम्भावना भएका सदस्यहरु प्रति संस्थाको संचालक समिति र व्यवस्थापन चनाखो रहनुपर्ने आवश्यकता औल्याउनु भयो ।

 

सहकारी विज्ञ ढकालले सम्पत्ति शुद्धीकरण निवारण ऐन र सहकारी क्षेत्रमा त्यसको कार्यान्वयनका लागि सहकारी विभागले हालै जारी गरेको निर्देशनमा भएका प्रावधानहरुबारे पनि संक्षेपमा व्याख्या गर्नुभयो ।

 

सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई समाजका सदस्य गोविन्द गिरीले स्वागत गर्नुभयो ।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै अध्यक्ष खतिवडाले आफूहरुसंग थुप्रै सहकारी संस्थाहरुले विभागले जारी गरेको निर्देशनको वारेमा जिज्ञाशा राख्नुका साथै केहीले अनभिज्ञता समेत प्रकट गरेकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउनुभयो । आयोजक संस्थाका सचिव ऋषिराम ढकालले संचालन गर्नुभएको उक्त कार्यक्रममा समाजका कोषाध्यक्ष सुशिल चौधरी र सदस्य मान बहादुर के.सी. (मानव) ले सहजीकरण गर्नुभएको थियो । अन्तरक्रियामा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव लक्ष्मी प्रसाद संग्रौलाका साथै विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै एक सय जना भन्दा बढी सहकारीकर्मीहरु सहभागी हुनभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम