स्थानीय तह र प्रदेशमा सहकारी व्यवस्थापन चुनौती


काठमाडौं । स्थानीय तह र प्रदेशमा सहकारी व्यवस्थापन चुनौतीपूर्ण रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।  ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ काठमाडौं(कास्कून) ले आयोजना गरेको ‘प्रादेशिक तथा स्थानीय तहमा सहकारी व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको सही व्यवस्थापन हुन सके मात्र आर्थिक विकास सहज हुने बताएका थिए ।

 

स्थानीय तहले कानुन बनाउँदा सहकारी ऐन तथा सहकारी विभागले बनाएको नमूना सहकारी ऐन हेरेर बनाए मात्र स्थानीय तहमा एकरुपता आउने उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै कानुनमन्त्री शेरबहादुर तामाङले कोही पनि सहकारीकर्मी आत्तिनुनपर्ने बताउनुभयो । तामाङले सहकारीमैत्री कानुन निर्माण गरिने उहाँको भनाई थियो । ‘जहाँबाट ऐन, नियम बनेपनि आउने कानुन मन्त्रालयमै भएकाले सहकारीको हित हुने कानुन आउनेमा ढुक्क हुनुहोस्’ उहाँले भन्नुभयो । सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि आफू क्रियाशील भएको उहाँको भनाई थियो । ‘सहकारीमा भएको पुँजीलाई रचनात्मक ढंगले परिचालन गर्नेगरी कानुन बन्नुपर्छ’ उहाँले भन्नुभयो ।

अन्तराष्ट्रिय सहकारी महासंघ(आइसिए) ग्लोबल मेम्बर ओमदेवी मल्लले विश्वमै सहकारी क्षेत्रमा युवालाई समेट्न आवश्यक भएको बताउनुभयो । युवालाई सहकारीमा समेट्न सके मात्र आर्थिक विकासले गति लिने उहाँको भनाई थियो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले जुनसुकै सहकारीले पनि बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले स्थानीय तहको कानुन बन्दा सहकारीको प्रवद्र्वन हुनेगरी बन्नुपर्ने बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेतले स्थानीय तहसँग मिलेर सहकारीले काम गर्नुपर्ने बताउनुभयो ।

जिल्ला बचत संघ काठमाडौंका अध्यक्ष केशवप्रसाद दंगालले स्थानीय तह र प्रदेशमा सहकारी व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘सही ढंगले व्यवस्थापन गर्न सके आर्थिक विकासमा महत्वपूर्ण आधार सहकारी नै हुने छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सहकारी विज्ञ सुदर्शन ढकाल र केन्द्रीय सहकारी प्रशिक्षणकेन्द्रका प्राचार्य भरतराज शर्माले कार्यपत्रप्रस्तुत गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर