अर्थतन्त्र स्थायित्वका लागि सहकारी निर्णायक


काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले अर्थतन्त्र स्थायित्वका लागि सहकारी निर्णायक भएको बताउनुभएको छ ।  ६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले दीगो विकासका लागि सहकारीले उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । वैदेशिक व्यापार घाटा कम गर्न सहकारीले उत्पादन क्षेत्रमा पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।

 

‘ऐन, नियम, नियमावलीमा कुनै समस्या परे नीति, कार्यविधिबाट पनि खुकुलो बनाउन सकिन्छ तर साँघुरो घेराभित्र रहेको सहकारी माथि आउनै पर्छ’ उहाँले भन्नुभयो । उत्पादन र वितरणमा समन्वय गर्न सहकारी अपरिहार्य भएको भन्दै मन्त्री खनालले भन्नुभयो,‘कृषि र पर्यटनमा सहकारीले काम गर्न नसके चाहे अनुसारको नतिजा हाशिँल गर्न सकिदैँन ।’

 

स्थानीय तह र प्रदेशमा सहकारीका कानुन निर्माण गर्ने क्रममा रहेको भन्दै मन्त्री खनालले स्थानीय तहको स्वायत्ततामा आँच नआउने गरी एकरुपता ल्याउन मन्त्रालयले समन्वय गर्ने बताउनुभयो ।

 

राष्ट्रिय सहकारी महासंघका सल्लाहकार भरत प्रधानले आर्थिक विकास र समाजिक न्यायका लागि सहकारीले रचनात्मक ढंगले काम गर्नुपर्ने बताउनुभयो । गरिबी निवारण र रोजगारी सिर्जनामा सहकारीले उल्लेख्य योगदान दिन सकिने उहाँको भनाई छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीले सदस्यको दीगो जीवन परिवर्तनमा जोड दिनुपर्ने बताउनुभयो । ‘यहाँका सहकारी बचत तथा ऋणमा उत्कृष्ट छन् अब उत्पादनमा उत्कृष्ट हुनुपर्छ’ उहाँले भन्नुभयो । सहकारी महासम्मेलनले दीगो विकास हुुने गरी सहकारीको स्पष्ट कार्यदिशा तय गरिनुपर्ने बताउनुभयो ।

 

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले दिगो विकास लक्ष्य प्राप्तिका लागि पहिचान र योजना आवश्यक भएको बताउनुभयो । प्रकृतिक स्रोत र साधनको उपयोग गरी सहकारीले कृषिमा जोड दिन सक्नुपर्ने उहाँको भनाई थियो । ‘उत्पादनदेखि उपभोक्ताको चुल्होसम्म पु¥याउन सक्नेगरी खाका तयार गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

 

सहकारी विभागका रजिष्ट्रार केशव रेग्मीले सहकारीको नामले मात्र दीगो विकास लक्ष्य प्रप्त गर्न नसकिने बताउनुभयो । उद्यमशीलताको विकास र नवीकरणीय स्र्रोतको समुचित प्रयोगले मात्र आर्थिक विकास सम्भव भएको उहाँकोे भनाई थियो ।

 

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन बाबुल खनालले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न