सहकारी महासम्मेलन तयारी पूरा
काठमाडौं । चैत्र २१ र २२ गते हुने दोस्रो सहकारी सम्मेलनको तयारी पूरा भएको छ । राष्ट्रिय सहकारी महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महासम्मेलनको तयारी पूरा भएको जनाएको हो । दोस्रो महासम्मेलनले वर्तमान सहकारीको समीक्षा गर्र्दै भावी कार्यदिशा तय गर्ने भएको छ ।
राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा हुने सहकारी महासम्मेलनले कार्ययोजना तय गर्ने सूचना तथा प्रचार प्रसार उपसमिति संयोजक चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
महासम्मेलनमा अन्तराष्ट्रिय सहकारी महासंघका नव निर्वाचित अध्यक्ष एरियल ग्वार्काे विशेष अतिथिको रूपमा र अन्तराष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त क्षेत्रीय बोर्डका सदस्यहरु उपस्थित हुने भएका छन् ।
महासम्मेलनमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले नेपालको सहकारी अभियान ः २०२२ सम्मको कार्यदिशा, डा खिमलाल देवकोटाले सहकारीको प्रवद्र्धनमा सरकारका विभिन्न तहको भूमिका विषयक कार्यप्रत्र प्रस्तुत गर्ने छन् ।
त्यसैगरी प्रा. डा पुष्पराज कँडेलले दीगो विकास लक्ष्य र यसको कार्यान्वयनका लागि सहकारी क्षेत्रको सहभागिता, पूर्व मूख्य सचिव डा. विमल कोइरालाले वित्तिय सहकारी, चुनौती र सम्भावना, डा रामशरण खरेलले तीन खम्बे अर्थनीतिका सन्दर्भमा सहकारी, निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य, सहकारीमा महिला र युवाको सहभागिता विषयमा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले कार्यप्रत्र प्रस्तुत गर्ने छन् ।
महासम्मेलनमा सहकारी संघसंस्था, सहकारी सम्बद्ध सरकारी तथा गैहसरकारी निकायका प्रतिनिधिहरू करिव १ हजार जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सरकारको हातेमालोविना सहकारीले गति लिन नसक्ने बताउनुभयो । सहकरी कृषिमा जान चाहेपनि नीति, नियमका कारण समस्या परेको उहाँको भनाई थियो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीको भावनाअनुसार नियमावली ल्याइने बताउनुभयो । सहकारीलाई उत्पादनमा जान सजिलो हुनेगरी कानुन ल्याइने उहाँको भनाई थियो ।