समृद्धिका लागि सहकारीलाई प्रवद्र्धन गर्छौ : नगर प्रमुख महर्जन


काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले नगरपालिकाको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  जनतालाई आत्मनिर्भर बनाई दीगो विकासका लागि सहकारी उपयुक्त र प्रभावकारी माध्यम भएको भन्दै उहाँले सहकारीको विकासका लागि नगरपालिकाले प्रभावकारी काम गर्ने बताउनुभयो ।

 

उहाँले नगरपालिकाले सहकारीलाई प्रवद्र्धनका लागि सहकारीमैत्री ऐन कानुन निर्माण गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सहकारी आर्थिक विकास र सामाजिक रुपान्तरण महत्वपूर्ण माध्यम भएकाले यसको सेवालाई प्रभावकारी बनाउन सहकारीहरुले ध्यान दिनु पर्ने बताउनुभयो । कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव उपेन्द्रबहादुर ढुंगानाले सहकारीमा स्थानीय तहको भूमिका विषयक अवधारणा प्रस्तुत गर्नु भएको थियो ।

 

उहाँले संघीय संरचना अनुसार सहकारीको दर्ता, नियमन र प्रवद्र्धनका काम अब स्थानीय तहले गर्ने भएकाले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि स्थानीय सरकार गंभिर बन्नु पर्नेमा जोड दिनुभयो ।  

 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारीहरुको प्रवद्र्धन र विकासका लागि बैंक सदैव क्रियाशिल रहेको बताउनुभयो । उहाँले वित्तीयसंगै शिक्षा, तालिम र ऐन कानुन निर्माणमा समेत सहकारीहरुलाई बैंकले सहयोग र समन्वय गर्दै आएको भन्दै समन्वय गर्न आव्हान गर्नु भयो ।   कार्यक्रमको उदेश्यका बारेमा बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो ।

 कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको बारेमा बैंकका लेखा समिति सदस्य सागर नेपालले स्पष्ट पार्नु भएको थियो ।   कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले काठमाडौमा सहकारीको अवस्था,  हस्तान्तरणको अवस्था लगायत प्रवद्र्धनका लागि भएको प्रयासहरुका बारेमा जानकारी गराउनु भएको थियो ।   बैंकको संक्षिप्त परिचय र कलंकी शाखाको अवस्थाका बारेमा कलंकी शाखाका प्रमुख अपर्णा पन्तले जानकारी गराउनु भएको थियो ।  

 

कार्यक्रम बैंकका सञ्चालक ज्ञानबहादुर तामाङको अध्यक्षता, बैंकका प्रवन्धक एवम् शिक्षा तथा तालिम विभागका प्रमुख रामबाबु आचार्यको स्वागत र बैंकका अधिकृत मिनाकुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।   कार्यक्रममा किर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरु र क्षेत्रका करिब १ सय वटा सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न