के गर्दै छन् बहुउद्देश्यीय सहकारी


नेपालमा सहकारीको सुरुवात भएको ६ दशक भएको छ । विस २०१३ मा बखान सहकारी स्थापनापश्चात् नेपालमा सहकारीको सुरुवात भएको पाइन्छ । तर सहकारीको विकास विसं २०४८ सालको सहकारी ऐनपछि मात्रै विकसित हुँदै आएको हो । नेपालका सहकारीले पैसाको कारोबारदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् ।

 

विशेषतः सहकारीले ग्रामीण अर्थतन्त्रमा रचनात्मक टेवा पु¥याएको छ । अब हरेक स्थानीय तहमा एक सहकारी आवश्यक छ । तर सबै स्थानीय तहमा सहकारी पुग्न सकेका छैनन् । सहकारीले सदस्यलाई सबै प्रकारको सेवा दिन सक्नुपर्छ । त्यसको लागि चाहिने संस्था बहुउद्देश्यीय प्रकृतिको नै हो । बहुउद्दश्यीय सहकारीमार्फत बढीभन्दा बढी मानिसलाई संस्थामा आबद्व बनाई स्थानीय तहको सहकार्यमा विभिन्न गतिविधि अगाडि बढाउन सकिने सरोकारवाहरू बताउँछन् ।

 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई तिमिल्सनाले बहुउद्देश्यीय सहकारीले विश्वमा सबै किसिमका काम गरेको भए पनि नेपालमा त्यस्तो नरहेको बताउनुहुन्छ । ‘सदस्यले सबै सेवा उपभोग गर्न पाउने गरी बहुउद्देश्यीय सहकारीले काम गर्न सक्छन्, तर नेतृत्व तहमा काम गर्ने व्यक्ति जागरुक हुनुपर्छ’ उहाँले भन्नुभयो । अधिकांश बहुउद्देश्यीय सहकारी बचतमै फोकस भएकाले उनीहरूको कारोबारमा विविधिता ल्याउन र सदस्यलाई उद्यमशील बताउन प्रशिक्षण आवशयक भएको उहाँको भनाइ छ ।

 

अहिले बहुउद्देश्यीय सहकारी बचतमा मात्रै केन्द्रित भए भनेर कारबाही गर्नुको साटो प्रशिक्षण दिएर व्यवसायको स्थायित्व दिन सक्नेगरी राज्य र अभियानले सहकार्य गरी अघि बढ्न आवश्यक भएको उहाँको भनाइ छ । सहकारीमार्फत नै समृृद्धितर्फ जान सकिनेमा दुई मत छैन । सहकारी स्थानीय तह, राज्यसँग समन्वय गरेर जान सक्छन् । सबै प्रकृतिका सहकारीले स्थानीय तहको समन्वयमा काम गर्न सके सदस्यको जीवनस्तर उकासिनुका साथै आर्थिक समृद्धि हासिल गर्न सकिने उहाँको विश्वास छ ।

 

सहकारी विभागका अनुसार ३४ हजार ५ सय १२ वटा सहकारी दर्ता भई सञ्चालनमा आएका छन् । त्यसमध्ये झन्डै आधाजसो सहकारी बचत तथा ऋणमै केन्द्रित भएका छन् । विभागका अनुसार १३ हजार ५ सय ७८ वटा सहकारी बचत तथा ऋणको कारोबार गर्नेे गरी दर्ता भएका छन् । त्यसपछि बहुउद्देश्यीय सहकारी नै बढी दर्ता भएका छन् । बहुउद्देश्यीय सहकारीले बचत तथा ऋणको कारोबारसँगै अन्य विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् ।

 

सहकारी विभागका अनुसार ४ हजार ३ सय ७१ बहुउद्देश्यीय सहकारी दर्ता भएका छन् । अधिकांश बहुउद्देश्यीय सहकारीले बचत तथा ऋणको पनि कारोबार गर्छन् । साथै कृषि, जलविद्युत्लगायत विविध क्षेत्रमा पनि प्रत्यक्ष लगानी गरेका छन्् ।
हालैमात्र पारित भएको सहकारी ऐन २०७४ ले सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्ने, सोको परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने छन् भनेको छ । ऐनमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ । तर अधिकांश बहुउद्देश्यीयको बचत तथा ऋण मुख्य कारोबार भएकाले बहुउद्देश्यीय सहकारी रहने कि नरहने भन्ने अन्योल सिर्जना भएको छ ।

 

यो ऐन प्रारम्भ हुनुअघि दर्ता भएका बहुउद्देश्यीय वा विषयगत संस्थाले समेत मुख्य कारोबारको रूपमा बचत तथा ऋण गर्न पाउने छैनन् । यदि त्यसो भएको भए उनीहरूले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्ने छन् । नेपालमा चार हजारभन्दा बढी बहुउद्देश्यीय संस्था दर्ता भए पनि नमुनायोग्य काम भएको पाइँदैन । सामान्य ढंगले सञ्चालन भएका सहकारी धेरै भए पनि उत्पादन र सेवामा काम गर्ने बहुउद्देश्यीय सहकारीको संख्यामा औंलामा गन्न सकिने मात्र रहेको छ ।

 

विभागका अनुसार बहुउद्देश्यीय सहकारीले ६२ अर्ब ४६ करोड ३२ लाख ९६ हजारको कारोबार गर्दैै आएका छन् । बहुउद्देश्यीय सहकारीहरूले ६३ अर्ब २६ करोड ५५ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ३८ करोड ५० लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बहुउद्देश्यीय सहकारीको १० अर्ब ७५ करोड ३८ लाख ५० हजार सेयर पुँजी पुगेको छ ।

 

बहुउद्देश्यीय सहकारीले अन्य सहकारीको तुलनामा धेरैलाई रोजगारी दिएको छ । १२ हजार ८५ जनाले बहुउद्देश्यीय सहकारीमा प्रत्यक्ष रोजगारी गर्र्दै आएका छन् । रोजगारी गर्नेमा पुरुषभन्दा महिला बढी छन् । ६ हजार ७० जना महिला र ६ हजार १५ जना पुरुषले बहुउद्देश्यीय सहकारीमा प्रत्यक्ष रोजगारी गर्ने गरेको सहकारी विभागको तथ्यांकमा उल्लेख छ ।

 

बहुउद्देश्यीय सहकारीको सेयर सदस्य १२ लाख ७३ हजार ७ सय ७७ जना पुगेका छन् । त्यसमध्ये ६ लाख ५५ हजार ५ सय ४१ पुरुष र ६ लाख १८ हजार २ सय ३६ महिला सदस्य भएका छन् । सदस्यमध्ये ३१ हजार ६ सय ५ जना नेतृत्व तहमा (सञ्चालक) भएका छन् । १९ हजार २ सय ७१ पुरुष र १२ हजार ३ सय २६ जना महिला सञ्चालक छन् ।

 

सहकारी विभागका उपरजिस्ट्रार नारायणप्रसाद अर्यालले बहुउद्देश्यीय सहकारी उत्पादन, सेवा, उपभोक्तामुखी हुनुपर्ने भए पनि बचतमै केन्द्रित भएको बताउनुहुन्छ । बहुउद्देश्यीय सहकारीले यी तीनवटै क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने उहाँको तर्क छ ।

 

 

हालै जारी भएको सहकारी ऐनले ३० प्रतिशतभन्दा बढी जुन कारोबार हुन्छ त्योअनुसार नै काम गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । ऐनअनुरूप त्यस्ता बहुउद्देश्यीय सहकारी बचत तथा ऋणमा रूपान्तरण गर्नुपर्ने अवस्था नियमावलीमार्फत आउन सक्ने उपरजिस्ट्रार अर्यालको भनाइ छ । ‘हाम्रो उद्देश्य बहुउद्देश्यीय चाहिन्न भन्ने होइन, यसको अझ प्रवद्र्वन गरेर जानुपर्छ’ उहाँले भन्नुभयो ।

 

सहकारी मल्टी फक्सनमा जान पाइने गरी ऐन नियम बन्नुपर्छ । खासगरी ग्रामीण क्षेत्रमा काम गर्ने सहकारी बहुउद्देश्यीय प्रकृतिको हुन सके ती संस्थाले रचनात्मक काम गर्न सक्छन् । योगदानका हिसाबले बहुउद्देश्यीय सहकारीको कारोबार ठूलो छ । वास्तवमा सहकारीले गर्न नसक्ने केही छैन ।

 

अन्य सहकारीले प्रकृतिको आधारमा काम गर्ने भए पनि बहुउद्देश्यीय सहकारीले सबै काम गर्न सक्छ । नेपालमा चाहिने भनेको बहुउद्देश्यीय सहकारी नै हो । कुनै पनि मान्छे सहकारीमा लागेपछि उसका सबै आवश्यकता सहकारीबाट पूरा हुन सकोस् । तर बिडम्बना नै मान्नुपर्छ नेपालमा बहुउद्देश्यीय सहकारीले पैसाको किनबेचभन्दा अरू उदाहरणीय केही काम गर्न सकेका छैनन् ।

सहकारीबाट मान्छेको जीवनमा आइपर्ने सबै काम गर्न सक्नेगरी व्यवस्था गर्न आवश्यक छ । देशको स्वाधीन तथा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा बहुउद्देश्यीय सहकारीले उल्लेख्य योगदान दिन सक्छन् । राज्यले त्यसका लागि नीति, नियम खुकुलो बनाउनुपर्ने हुन्छ । स्थानीय तहमा बहुउद्देश्यीय सहकारीमा सबैजसोलाई आबद्ध गराई सदस्यको आवश्यकताअनुसारको काम गर्न सक्ने हो भने बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्ने ठाउँ छ ।

कारोबार बढाउँदै बहुउद्देश्यीय संघ

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले आफ्नो कारोबारको दायरा बढाउँदै लगेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशत कुल सम्पत्ति बढाएको छ । संस्थाको १७ करोड ५१ लाख २४ हजार ४ सय २३ कुल सम्पत्ति पुगेको छ । त्यस्तै चुक्रा पुँजी १ करोड १ करोड ६२ लाख ११ हजार रुपैयाँ पुगेको छ । संघले १६ करोड ४७ लाख ३७ हजार २५८ रुपैयाँ निक्षेप संकलन गरी ८ करोड २१ लख २० हजार ८ सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । संघले आर्थिक वर्ष २०७३÷७४ मा ३० लाख ९० हजार २२० सञ्चालन आम्दानी गरेको छ ।

 

यसैबीच, नेपाल बहुउद्देश्यीय सहकारी संघको निर्वाचन फागुन १२ गते हुँदै छ । लामो समयको रस्साकस्सीपछि दर्ता भएको संघ पछिल्लो समयमा देशभर फैलँदै छ । बहुउद्देश्यीय संस्थाहरूको योगदानलाई दिगो, भरपर्दो र परिणाममुखी बनाउन बहुउद्देश्यीय सहकारी संस्थाहरूको केन्द्रीय संघ गठन गरिएको नेतृत्वकर्ताहरू बताउँछन् । अध्यक्ष भण्डारीका अनुसार संघले आगामी दिनमा अझ नयाँ ढंगले काम गर्न सक्ने बताउनुहुन्छ ।

 

दर्ता भएका ४ हजार ३ सयभन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाहरूको हकहित, संरक्षण, प्रवद्र्धन र सुदृढीकरण गर्ने मुख्य उद्देश्य लिई केन्द्रीय सहकारी संघको स्थापना भएको बताइन्छ । अध्यक्ष भण्डारीले बहुउद्देश्यीय सहकारी संस्थाहरूको सबल व्यवस्थापन गरी अघि बढ्नुको विकल्प नभएको बताउनुहुन्छ । ‘सहकारीमार्फत उत्पादन प्रणालीलाई विशेष जोड दिने, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण गरी समग्र नेपालको सहकारी आन्दोलनलाई अग्रणी दिशामा अगाडि बढाउने हाम्रो छ ।’ उहाँले भन्नुभयो ।

 

सहकारी क्षेत्रमा देखिएका विभिन्न किसिमका समस्याहरूलाई उचित समयमा सम्बोधन गर्दै, विषयगत जिल्ला सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, केन्द्रीय सहकारी संघहरू र राष्ट्रिय सहकारी संघको समेत पुनर्संरचना गरी सहकारी उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्नको लागि सरकारसँग सम्बन्धित निकायहरूमा सुझाव दिने, दबाब सिर्जना गर्ने कामसमेत गर्दैै आएको भण्डारीको भनाइ छ । संघले अल्पकालीन र दीर्घकालीन कार्ययोजनाहरूलाई समेत चरणबद्ध रूपमा लागू गर्दै जाने जमर्को गर्दै अघि बढेको छ ।

 

२०६९ मंसिर २० गते दर्ता भई २०७० वैशाख १३ गतेबाट कार्यालय स्थापना गरी संघले काम गर्दै आएको छ । सदस्यहरूको दिगो रूपले विकास गर्न र परिणामामुखी कार्य सम्पादन गर्न तथा आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा संघले विभिन्न काम गर्दै आएको छ ।

 

सहकारी मूल्य मान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न, सदस्य संघ र संस्थाहरूबीच सहयोग र समन्वयको भूमिका निर्वाह गर्ने, सदस्यहरूलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिक र आधुनिकीकरण गर्ने संघले सोच लिएको छ ।

 

प्रस्तावित संघको कार्यक्षेत्र भित्रका संस्था तथा विषयगत संघको विकास तथा प्रवद्र्धन गर्ने, आफ्ना सदस्य संस्था÷विषयगत संघहरूको व्यावसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने लक्ष्यका साथ संघ अघि बढिरहेको छ ।
आफ्ना सदस्य संस्था वा संघहरूलाई सेवा पु¥याउन वित्तीय क्षमता वृद्धिका लागि आवश्यक व्यावसायिक एवं औद्योगिक कार्यहरू गर्ने, कार्यक्षेत्र भित्र रहेका सहकारी संस्था÷संघहरूको प्रतिनिधिमूलक तथा नेतृत्वदायी संस्थाको रूपमा भूमिका निर्वाह गर्ने, सदस्य संघ÷संस्थाहरूको आत्मनिर्भरताका लागि व्यावसायिक योजना निर्माण र कार्यान्वयनमा सहयोग गर्ने, सदस्य संस्थाहरूद्वारा उतपादित वस्तुहरूको वितरण र बजारको खोजी कार्यमा पूर्ण सहयोग पु¥याएको संघले जानकारी दियो ।

 

विभिन्न तह र तप्काका समुदायलाई सहकारितामा संगठित गराई सहकारिताको माध्यमबाट उनीहरूको जीवनस्तर उकास्न आर्थिक, सामाजिक, सांस्कृतिक एवं सामुदायिक विकासमा अग्रणी भूमिकामा जोड दिने, सदस्य संस्थाहरूको विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका आय, रोजगार, उत्पादन एवं सेवामूलक कार्यक्रमहरू सञ्चालन गरी सहकारिताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने गरेको छ ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी÷गैरसरकारी÷सहकारी संघ÷संस्थालगायत अन्य निकायहरूसँग समन्वय गरी सदस्य संस्थाहरूको चौतर्फी विकासमा योगदान गर्ने, पर्यटन, जडीबुटी, धार्मिक तथा कला संस्कृतिको संरक्षण एवं संवद्र्धन र विकास गर्ने, जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिको समायोजित कार्ययोजना बनाई उत्पादनमूलक व्यवसायमा जोड दिने, समाजको आवश्यकता हेरी सूचना, सञ्चार र प्रविधि क्षेत्रको विकास गर्ने संघको उद्देश्य हो ।

 

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार सदस्य संस्थाहरूको कार्ययोजना अनुरूप उत्पादकत्व बढाउन हरेक सामग्रीको सुलभता, बीउबिजन, सिँचाइ, विद्युत्, सडक, शिक्षा, स्वास्थ्य, जडीबुटी, पर्यटन र बजारजस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गर्ने वा सदस्यहरूबीचमा उपसमिति निर्माण गरी सम्बन्धित निकायहरूको स्वीकृति लिएर उक्त कार्यहरू सञ्चालन गर्दै आएको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न