सहकारी ऐन २०७४ सम्बन्धी अन्तरक्रिया


इटहरी । नेफ्स्कून फिल्ड कार्यालय इटहरी, सुनसरीको आयोजनामा नेफ्स्कून आवद्धता अभिमुखिकरण तथा सहकारी ऐन २०७४ सम्बन्धी अन्तरक्रिया कार्यक्रम बैशाख १६ गते आईतबार सम्पन्न भएको छ । होटल हिले भ्यूको सभाहल हिले, धनकुटामा संचालन भएको कार्यक्रममा धनकुटाका विभिन्न सहकारीबाट ४८ जना सहकारीमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता नेफ्स्कून संचालक तथा फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले गर्नु भएको थियो भने विशेष व्यक्तित्व नेफ्स्कून अध्यक्ष डि.बी. बस्नेत, संचालक तथा प्रदेश नं. १ उपसमिति संयोजक घनश्याम अधिकारी र संचालक तथा लघुवित्त तथा उद्यमशलिता विकास उपसमिति संयोजक चन्द्रकुमारी खड्का, जिल्ला बचत संघ धनकुटा अध्यक्ष बोधा दाहाल, धनकुटा साकोस अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. १ अध्यक्ष निरेन तामाङ र उद्योग वाणिज्य संघ धनकुटा अध्यक्ष उमेश घिमिरे लगायतको विशेष उपस्थिति रहेको थियो । नेफ्स्कून संचालक तथा लघुवित्त तथा उद्यमशलिता विकास उपसमिति संयोजक चन्द्रकुमारी खड्काले स्वागत गर्नु भएको कार्यक्रमलाई नेफ्स्कून अध्यक्ष डि.बी. बस्नेतले दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

 

जिल्ला बचत संघ धनकुटा अध्यक्ष बोधा दाहालले शुभकामना मन्तव्य राख्दै धनकुटालाई नै प्राथमिकतामा कार्यक्रम राखिएकोमा धन्यवाद सहित सहभागीहरुलाई सक्रिय सहभागीताको लागि आनुरोध गर्नु भएको थियो साथै अहिले सम्मको संघको निष्क्रीयता छिटै तोडेर नयाँ दिशा दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । धनकुटा साकोस अध्यक्ष तथा धनकुटा नगरपालीका वडा नं. १ अध्यक्ष निरेन तामाङले मन्तव्य राख्दै सहकारी क्षेत्रलाई सुशासन र दीगो बनाउन गर्नु पर्ने काममा नगरपालीका सहयोगी हुने गरी पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले सम्पूर्ण स्थानीय तहले सहकारी सम्बन्धि कानून बनाउने तयारी गरी रहेको हुदा सहकारी अभियानतासँग परामर्श गरेर बनाउनु पर्ने विचार राख्नु भयो ।

 

कार्यक्रमको पहिलो सत्रमा नेफ्स्कून सम्बन्धी प्रस्तुती तथा आवद्धता प्रकृयाको बारेमा फिल्ड कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले सहजीकरण गर्नु भएको थियो भने त्यसमा उठेका प्रश्न र जिज्ञासालाई नेफ्स्कून अध्यक्ष डि.बी. बस्नेतले प्रष्ट पार्नु भएको थियो ।

 

कार्यक्रमको दोस्रो सत्रमा सहकारी ऐन–२०७४ को सम्बन्धमा नेफ्स्कून संचालक घनश्याम अधिकारीले नयाँ विषय र त्यसको समालोचना समेत प्रस्तुत गर्नु भएको थियो । त्यसमा उठेका प्रश्न र जिज्ञासालाई संघका अध्यक्ष बस्नेतले प्रष्ट पार्नु भएको थियो भने साकोसहरुले ऐनलाई छिटो भन्दा छिटो अध्ययन गरी तुरुन्तै गर्नु पर्ने कार्यहरुलाई कार्यान्वयन गर्न ढिलो गर्नु नहुनेमा सजग गराउनु भएको थियो ।

 

कार्यक्रममा अध्यक्ष बस्नेतले धनकुटा जिल्लाका साकोसहरुको दिगो विकास गराउने र सम्पूर्ण साकोसलाई सुशासनमा ल्याई जोखिम न्युनीकरण गराउने बताउनु भयो । अभियान कर्ताहरुले स्थानीय तहसँग समन्वय गरी सम्पूर्ण साकोसको जोखिम न्युनीकरणका कार्यक्रममा सहभागिताको लागि सहयोगको वातावरण मिलाउनु पर्ने बताउनु भयो ।

 

मन्तव्यको क्रममा धनकुटा जिल्लामा नेफ्स्कूनका सदस्य वृद्धि गराएमा फिल्ड कार्यालय राख्न सकिने भएकोले १ नं. प्रदेश कार्यालय कार्यान्वयनको लागि समेत सबै साकोसहरुलाई पूर्ण सहयोग गर्न आग्रह गर्नु भयो । नयाँ ऐन र सम्पत्ती शुद्धिकरण ऐनको व्यवस्थालाई समयमै कार्यान्वयनमा नल्याएमा साकोसलाई अप्ठ्यारो पर्ने भएकोले जति सक्दो छिटो कार्यान्वयनको बाटोमा जानु पर्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रम समापन गर्दै अध्यक्षता गर्नु हुने नेफ्स्कून संचालक सदस्य तथा फिल्ड कार्यालय इटहरी, सुनसरी व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालले अन्तरक्रियाबाट नै समाधान हुने भएकोले कार्यक्रम आयोजना गरीएको विचार व्यक्त गर्नु भएको थियो ।

 

साकोसहरुले नेफ्स्कूनका सबै सेवाहरुमा सहभागी भई गुणस्तर सुनिश्चित गर्न आवश्यक भएको भनाई राख्दै सहभागीहरु लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना दिनु भएको थियो ।

 

नेफ्स्कूनमा सदस्य बन्न बाँकी सबै साकोसलाई सदस्य बनी सेवा सुविधामा सहभागी हुन समेत आग्रह गर्नु भएको थियो । साकोस अभियानलाई सफल बनाउन सबैले सकारात्मक सहयोग पु¥याउनु पर्ने समेत बताउनु भएको थियो ।

 

कार्यक्रम संचालन नेफ्स्कून फिल्ड कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापनमा विशेष सहयोग धनकुटा साकोस अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. १ अध्यक्ष निरेन तामाङ, धनकुटा साकोस परिवार र उद्योग वाणिज्य संघ धनकुटा अध्यक्ष उमेश घिमिरे लगायतले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर