उत्पादनसँगै बजारीकरणमा ध्यान दिऔं  : जिसी


बागलुङ, १४ जेठ ।   राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले समृद्ध मुलुक निर्माणका लागि कृषिमा व्यवसायिकीकरण गरी उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । सिम्रीक कृषि तथा पशु व्यवासायिक सहकारी संस्था लिमिटेड बागलुङले सोमबार बागलुङ नगरपालिका वडा नंं. ४ कुडुलेमा आयोजना गरेको सहकारी शिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कृषकहरुले दुख कष्ट गरेर उत्पादन गरेका वस्तुले उचित मूल्य पाउने अवस्था नआउदासम्म उत्पादन नबढ्ने भएकाले बजारीकरणका लागि राज्यले योजना ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।   तीन वटै तहका सरकारहरु समृद्धिको अभियानमा छन, समृद्धि कुरा गरेर आउदैन जिसीले भन्नुभयो–समृद्धिका लागि जनतालाई उत्पादनमा लगाउने र उनीहरुको उत्पादन सहजै विक्री वितरण हुने अवस्था सिर्जना गर्नु पर्छ ।

सहकारीहरु उत्पादन, प्रशोधन र बजारीकरणमा भन्दा पनि सहज रुपमा गर्न सकिने काममा बढी केन्द्रीत भएको भन्दै उहाँले सहकारीको योगदान बढाएर समृद्धिको अभियानलाई सफल पार्नका लागि सहकारी क्षेत्रले उत्पादनमा ध्यान दिनु पर्ने उहाँको सुझाव छ ।

 

 कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मणिभद्र शर्मा, बागलुङ नगरपालिका वडा नं. ४ का वडा सदस्य बाणिन्द्र बहादुर केसी, कुडुले ताजा तरकारी सहकारी संस्थाका सचिव टिकाराम सापकोटा लगाएतले सहकारीमार्फत कृषि क्षेत्रमा प्रभावकारी काम गर्नु पर्ने बताउनु भएको थियो ।

 कार्यक्रममा  राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी ऐन र सहकारीमार्फत उत्पादनका विषयमा तथा संस्थाका अध्यक्ष लोकन्द्र पौडेलले सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थाको वर्तमान अवस्था र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लोकेन्द्र पौडेलको अध्यक्षता, सचिव चुणामणि उपाध्यायको संचालन र कोषाध्यक्ष जगन्नाथ सापकोटाको  स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा ९६ जनाको सहभागिता रहेको थियो । सो अवसरमा संस्थाले कृषकहरुलाई  १० हजार मूल्य वराबरको काक्रो, मुला, रायो, सिमी लगाएतका तरकारीका विउ निशुल्क वितरण गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न