दाङमा सहकारी बैंकको अन्तरक्रिया कार्यक्रम 


‘सहकारीलाई स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रीत गरौ’
दाङ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि स्थानीय उत्पादन बढाउनु पर्ने र त्यसको बजारीकरण समेत उत्पादकहरुबाटै गर्नु पर्नेमा दाङको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधवार आयोजना गरेको सहकारी बैंक र सदस्य संस्थाहरुबीच अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहकारीका शेयर सदस्यहरुलाई सीप, प्रविधि र पूँजि उपलब्ध गराई उत्पादन बढाउन प्रोत्साहन गर्ने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरणका लागि सहकारीलाई केन्द्रीत गर्नु पर्नेमा सहभागीहरुको जोड थियो ।
राज्यले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने लक्ष्य लिएको छ, राज्यले लिएको लक्ष्य पुरा गर्नका लागि स्थानीय स्रोतको अधिकतम परिचालन आवश्यक रहेको भन्दै सहभागीहरुले त्यसका लागि किसानलाई उत्पादनमा, सहकारीलाई संकलन र बजारीकरणमा लगाउनु पर्ने बताएका थिए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले राजनीतिक क्रान्ति सकिएकाले अबको सम्पूर्ण ध्यान आर्थिक क्रान्तिमा लगाउनु पर्ने र त्यसका लागि उत्पादन बढाउने, उत्पादित वस्तुको व्यवस्थित बजारीकरणमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले उत्पादन गर्न जनतालाई र संकलन र बजारीकरणमा सहकारीलाई लगाउन सकियो भने मात्रै राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राख्नु भयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्थानीय तहलाई समृद्ध बनाउनका लागि सहकारी सबैभन्दा उपयुक्त माध्यम हुने भएकाले सबै स्थानीय तहले सहकारीसंग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । तुलसीपुरको समृद्धिका लागि सहकारीसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै तुलसीपुर उपमहानगरपालिकामा सहकारी बैंकको शाखा सञ्चालन गर्न समेत माग गर्नु भयो ।
कार्यक्रममा बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले न्यायसंगत तथा व्यवहारिक रुपमा सहकारी क्षेत्रको कर समायोजन हुने बताउनु भयो । उहाँले सहकारीमा युवाहरुलाई बढी भन्दा बढी सहभागी गराउने गरी योजना निर्माण गरेर सहकारी क्षेत्र अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै बैंकका प्रवन्धक सञ्चालक के.बी. उप्रेतीले सहकारी क्षेत्रको सबै भन्दा धेरै सदस्य भएको, धेरै शाखा तथा सञ्जाल रहेको र बढी कारोबार भएको सहकारी बैंकमार्फत दिइने सेवालाई समयक्रमसंगै विकास र विस्तार गरिने बताउनुभयो । उहाँले सहकारी क्षेत्रको सबै बजेट निर्धक्क भएर सहकारी बैंकमा जम्मा गर्न आव्हान गर्नुभयो ।

 

अन्तरक्रिया कार्यक्रमको उदेश्य तथा औचित्यका बारेमा बैंकका सञ्चालक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा, वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल, राष्ट्रिय सहकारी बैंक दाङ शाखा समन्वय उपसमितिका संयोजक भरतबहादुर बुढाथोकी, कृषि सहकारी संघका अध्यक्ष पदमा आचार्य, घोराही उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

बैंकका अध्यक्ष रमेश पोखरेलको अध्यक्षता, सञ्चालक हरिहरनाथ योगीको स्वागत र दाङ शाखाका प्रमुख नारायण बेलबासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगामी योजनाका बारेमा बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहजीकरण गर्नु भएको थियो ।

 

सोही अवसरमा बैंकको दाङ शाखामा आर्थिक वर्ष २०७३/०७४ मा उत्कृष्ट कार्य गर्ने हातेमालो वचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने साझेदारी वचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरिएको थियो ।

 

दाङ, प्युठान, रुकुम र सल्यान जिल्लाका २ सय ५० भन्दा बढी सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच सहकार्य, सहकारी अभियानलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गरिएको थियो ।

 

२०६९ सालमा स्थापना भएको दाङ शाखामा साविकको राप्ती अञ्चलका ३ सय ५० वटा सहकारी संघ संस्थाहरु सदस्य, करिव २ करोड शेयर रकम, २० करोड निक्षेप र २० करोड कर्जा लगानी रहेको शाखा प्रमुख नारायण बेलवासेले जानकारी दिनुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न