बेनी साकोसका सञ्चालकका लागि क्षमता अभिवृद्धि तालिम


  बागलुङ, २५ असार । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरुका लागि आयोजित क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।   तालिमको उद्घाटन संस्थाका जेष्ठ सञ्चाललक सदस्य ७७ वर्षीय अंगद श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहकारीहरु मानिसको बुढेसकालको साहराका रुपमा अगाडि आएकाले संस्थालाई प्रभावकारी सञ्चालनका लागि सबै सदस्यहरुले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

 कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले दीगो सहकारी निर्माणका लागि सहकारी ऐन नियमको पालना गर्न तथा रणनीतिक योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।   शेयर सदस्यहरुलाई नगदमा नाफा दिने मात्र सोंच राखेर सहकारीको मर्म र भावना पुरा नहुने भन्दै उहाँले सदस्यहरुको समस्या समाधानमा सहयोगी संस्था बनाउनु पर्ने बताउनु भयो ।

सहकारी ऐन, सहकारीमा सञ्चालक र व्यवस्थापनको भूमिका, सहकारी व्यवसायका सकारात्मक पक्ष र चुनौती लगायतका विषयमा जिसीले सहजीकरण गर्नु भएको थियो ।   कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सहकारीमैत्री ऐन नियम निर्माण गरेर सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफु तत्पर रहेको बताउनु भएको थियो ।   तालिमका सहभागीहरुको तर्फबाट बोल्दै सञ्चालक सदस्य नेत्रबहादुर महतले बेनी बचत तथा ऋण सहकारीको १६ वर्षे इतिहासमै पहिलो पटक प्रभावकारी र व्यवस्थित तालिम सम्पन्न गरेको बताउनुभयो ।

उहाँले सहकारीलाई नीति नियम भित्र रहेर प्रभावकारी रुपमा अगाडि बढाउनका लागि तालिम अत्यन्तै उपयोगी भएको र तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।   तालिम समापनका क्रममा अध्यक्षको आसनबाट बोल्दै संस्थाका अध्यक्ष रमेश गिरीले बेनी बचत तथा ऋण सहकारी संस्थालाई आगामी दिनमा अझै व्यवस्थित र प्रदेश स्तरमै पहिचान दिने सहकारीका रुपमा विस्तार गर्न तालिम सहयोगी भएको र आगामी दिनमा समेत सहकारी शिक्षालाई जोड दिइने बताउनु भयो ।

कार्यक्रममा स्वागत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले र सञ्चालन सचिव लक्ष्मण शर्माले गर्नु भएको थियो ।   २०५८ सालमा स्थापना भएको बेनी बचत तथ ऋण सहकारी संस्थामा हाल २ करोड १० लाख शेयर रकम, २९ करोड बचत र २८ करोड कर्जा लगानी रहेको संस्थाका प्रवन्धक मुरारी रिजालले जानकारी दिनुभयो ।    ७ जनालाई रोजगारी दिएको संस्थाले विगत २ वर्षदेखि बजार प्रतिनिधिलाई बजारमा रकम संकलनका लागि परिचालन गर्न छोडेको छ । संस्थाका शेयर सदस्यहरु संस्थामा नै आएर कारोबार गर्ने परिपाटीको विकास भइसकेकाले बजारमा प्रतिनिधि पठाउन छोडिएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम