आदर्श सञ्चारको रणनीतिक योजना तयार


बागलुङ । सूचना र सञ्चारसंगै वित्तीय कारोबार समेत गर्दै आइरहेको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडलाई व्यवस्थित सञ्चार गृहको रुपमा अगाडि बढाउने गरी नीति निर्माण तय गर्न एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् ।   संस्थाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा बजेट निर्माणका लागि शनिवार आयोजना गरेको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

 

२०८० सालसम्मको रणनीतिक योजना बनाएर आफ्ना गतिविधि अगाडि बढाइरहेको आदर्श सञ्चार सहकारीलाई प्रदेश स्तरको व्यवस्थित र सुविधा सम्पन्न सञ्चार गृहका रुपमा स्थापित गर्ने खालका कार्यक्रम बनाएर अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका हुन् ।   बागलुङ जिल्ला कार्यक्षेत्र भएको आदर्श सञ्चार सहकारीले २०८० सालको असार मसान्तसम्म ५ हजार भन्द बढी शेयर सदस्य, १२ करोड ५० लाख शेयर रकम, ४० करोड बचत र ५० करोड कर्जा लगानी गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

 

संस्थाले आफ्नै सुविधा सम्पन्न भवन, आधुनिक प्रेस, गाडीको व्यवस्थापन गर्ने लक्ष्य लिएको छ ।   संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि सदस्यहरुलाई थप शिक्षा र सचेतना, सञ्चालक र कर्मचारीको क्रियाशिलता आवश्यक रहेको सहभागीहरुले बताए ।   साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनसंगै वित्तीय कारोबार समेत गर्दै आएको छ । संस्थामा हाल १२ सय जना शेयर सदस्य, करिब ३ करोड शेयर रकम, ९ करोड वचत र १२ करोड लगानी रहेको सो अवसरमा जानकारी दिइएको थियो ।

 

सञ्चालक समिति, उपसमिति, सल्लाहकार, कर्मचारी र उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुसहित ५० जनाको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुले संस्थालाई थप व्यवस्थित बनाउनका लागि सबै शेयर सदस्यहरुको भूमिका बढ्ने गरी कार्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिएका थिए । एक जना सदस्यले एक जना शेयर सदस्य थप गर्ने, गाउँ गाउँमा सहकारी शिक्षालाई प्रभावकारी बनाउने संस्थाको योजनालाई सफल पार्न सबै शेयर सदस्यहरुले सहयोग गर्नु पर्ने सहभागीहरुको सुझाव थियो ।   कार्यक्रममा सहजीकरण गर्दै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीमार्फत सञ्चार क्षेत्रको प्रवद्र्धन र विकाससंगै वित्तीय क्षेत्रमा समेत थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

संस्थाले बनाएको १० वर्षे रणनीतिक योजनाका आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरी अगाडि बढ्नका लागि सबै शेयर सदस्यहरुको सक्रिय र रचनात्मक सहयोग आवश्यक हुने उहाँको भनाइ थियो । सक्रिय सदस्य, दक्ष कर्मचारी र क्षमतावान सञ्चालक सहकारी सफलताको महत्वपूर्ण आयाम भएकाले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेमा उहाँको जोड थियो ।   कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, सहसचिव ललिता थापाको सञ्चालन र सञ्चालक शान्ति श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

 

यसैबीच सोही अवसरमा संस्थाका शेयर सदस्यहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन, सदस्यहरुले गर्दै आएका व्यवसायहरुको प्रवद्र्धनमा सहयोग पु¥याउने तथा सहकारी क्षेत्रलाई आम जनताका बीचमा लैजाने लक्ष्यका साथ आदर्श सम्वाद क्लव गठन गरिएको छ ।   शेयर सदस्य हिराबहादुर केसीको संयोजकत्वमा गठित आदर्श सम्वाद क्लवका सदस्यहरुमा हरिकृष्ण सुवेदी, सुरेशप्रसाद श्रेष्ठ, सूर्यप्रसाद चापागाई, हिरामणी उपाध्याय, गोविन्दबहादुर कार्की, धनबहादुर खड्का, मुरारी गैरे, मानबहादुर कार्की, सुदिप कंडेल, तुलकुमारी बाँनिया, कल्पना जिसी, चम्फा जिसी, प्रेमबहादुर पुन, शंकर पाण्डे, पार्वती कार्की र ऋषिराम जैसी रहनु भएको छ ।

 

सहकारी प्रवद्र्धन र सदस्यहरुको व्यवसाय प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया, भेटघाट तथा छलफल कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ सम्वाद क्लव गठन गरिएको संयोजक केसीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम