अमेरिकाबाट फर्केर व्यवसायिक कृषि अभियानमा


सिन्धुपाल्चोक । पाँचपोखरी गाउँपालिका वडा नं. २ बरुवा निवासी पेम्बा शेर्पा यतिखेर व्यवसायिक कृषि अभियानमा जुट्नुभएको छ । कुनै समय अमेरिकामा बिताउनुभएका शेर्पा सन् २०१६ देखि सिन्धुपाल्चोकमा कृषि अभियानमा केन्द्रीत हुनुुभएको हो । उहाँले ४० रोपनीमा अलैची लगाउनुका साथै पाँच सय बोट टिमुरसमेत लगाउनुभएको छ ।

अमेरिकामा १५ वर्ष बिताउनुभएका पेम्बाले पाँचपोखरी गाउँपालिकामा नमूना कृषि क्रान्ति सुरु गर्नुभएको छ । उहाँले अलैची, टिमुर, एड्भोकाडोलगायत रोपेर व्यवसायिक कृषि परियोजना सुरु गर्नुभएको हो । अहिले २५ लाख लागतमा कृषि अभियान सुरु गरेपनि उहाँले छिट्टै साझेदारी खोजेर करोडौं लगानीमा व्यवसायिक खेती गर्ने योजना बनाउनुभएको छ । धेरै जाना साथीलाई समेटेर बहुउद्देश्यीय योजनामा जाने योजना रहेको र त्यसै तयारीमा जुटेको उहाँले बताउनुभयो ।

पेम्बाले ‘छोटेन अग्रीकल्चर फर्म’ मार्फत कृषि परियोजना सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गुर्नुहुन्छ । ‘कृषिमा व्यवसायिकरण सम्भव छ तर एक्लैले कृषिमा हात हालेर आम्दानी गर्न सकिदैँन’ उहाँले भन्नुभयो । पाँचपोखरीलाई अर्गानिक गाउँपालिका बनाउने योजना रहेको उहाँको भनाई छ दशदेखि १५ जनाले करोडभन्दा बढी लगानी गरेर व्यवसायिक खेती गर्न सके कम्तीमा १५ जनाले रोजगार पाउन सक्ने उहाँले विश्वास व्यक्त गर्नुहुन्छ ।

छोटेन अग्रीकल्चर फर्ममार्फत पाँचपोखरी गाउँपालिकामा चिया, किबी, एड्भोकाडो बृहत खेतीको तयारी हुँदैछ । नेपालका लागि एड्भोकाडो नयाँ फल हो । यो घिउजस्तै हुन्छ । जुनै रोगीले खान मिल्ने फल हो यो । पेम्बाले यसको खेती विस्तार गर्न सके प्रशस्त आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

पाँचपोखरीमा धान खेती गर्ने जग्गा बाँझो हुन थालेको छ । ती जग्गामा व्यवसायिक खेती गर्न सकिने ठाउँ प्रशस्त रहेको छ । जग्गा वरीपरीको जग्गा पनि लिजमा लिएर काम गर्ने उहाँको तयारी छ । नजिकैको वन भाडामा लिएर भएपनि खाली ठाउँमा अलैची रोप्ने योजनामा पेम्बा हुनुहुन्छ ।

पेम्बा सन् २००२ मा अमेरिका जानुभएको थियो । १५ वर्षपछि सन् २०१६ मा नेपाल फर्केर उहाँले व्यवसायिक खेतीसँगै जलविद्युत क्षेत्रमा पनि लगानी गर्नुभएको छ । उहाँले एनर्जी इञ्जिनियरिङ हाइड्रोपावरमा एक करोड लगानी गर्नुभएको छ । केही समय त्यसको फिल्ड डाइरेक्टर भएर काम गरेपनि उक्त कम्पनीबाट उहाँ जिम्मेवारी मुक्त हुनुहुन्छ । उक्त कम्पनीबाट उत्पादन सुरु गर्ने अन्तिम तयारीमा छ । उत्पादन सुरु भएपछि उक्त कम्पनीबाट ६.४२ वाटका ३२ लाख बल्व बल्छन् ।

जलविद्युतमा लगानी गरेपनि उहाँको प्राथमिकता कृषि क्षेत्रमै छ । अलैचीको बजार बढ्दै गएकोमा उहाँ खुसी देखिनुहुन्छ । यसपाली ६०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुनेमा उहाँ आशावादी हुनुहुन्छ । अलैचीमा मिसावटले बजार बिग्रिएको उहाँको भनाइ छ । अलैचीको उपयोगिता तरकारीमा हुन्छ । विदेशमा औषधिसमेत बनाइन्छ । नेपालमा पनि अलैचीको उपयोग बढ्दै गएकोले त्यसको व्यवसायिकरण गर्न सकिने उहाँको योजना छ ।

अमेरिकामा रहँदा एउटै कम्पनीमा धेरै समय काम गरेका पेम्बा शेर्पा ह्येल्मो सोसाइटी अफ अमेरिकाको अध्यक्ष भएर तीन वर्ष काम गर्नुभयो । त्यहाँ रहँदा सामाजिक कामसँगै राजनीतिमा पनि सक्रिय हुनुभयो । नेपाली कांग्रेस न्यूर्योक च्पाप्टरको उपाध्यक्ष भएर नेपाली युवालाई प्रदेशमा संगठित गर्ने काम पनि गर्नुभयो ।

सानैदेखि राजनीतिमा क्रियाशील पेम्बा अहिले पाँचपोखरी गाउँपालिकाको वडा नम्बर २ को वडासदस्य समेत हुनुहुन्छ । वडा सदस्यमा भारीमतले निर्वाचित भएपछि राजनीतिसँगै उहाँ कृषि क्रान्तिमा होमिनुभएको हो । युवालाई कृषिमा उत्साहित गर्न सरकारले गाउँघरकै जग्गा धितो राखेर व्यवसाय गर्ने वातावरण निर्माण गर्न आवश्यक भएको उहाँको भनाई छ ।

‘पैसाबिना काम हुन सक्दैन । प्रतिफल आउन दुई तीन वर्ष कुर्नुपर्छ तर कृषिमा धैर्य चाहिन्छ, सफलता प्राप्त गर्न सकिन्छ’ उहाँले भन्नुभयो । सरकारले धितोमा सहजता ल्याईदिए अधिकांश युवा कृषिमा आकर्षित हुन सक्ने उहाँको बुझाई छ शैक्षिक योग्यताकोे आधारमा तथा प्रोजेक्ट धितो राखेर पनि सरकारले ऋण दिने व्यवस्था कार्यान्वयन गर्न आफू लागि परेको जानकारी दिनुभयो ।

पेम्बा ठुलो छोरीज्वाईसँग बस्दै आउनुभएको छ । उहाँका छोरीमध्ये दुई छोरी मात्र नेपालमा छन् अरु ६ जना विदेशमै बस्छन् । चार छोरी अमेरिकामा र अरु दुई छोरी अष्ट्रेलिया र युकेमा बस्छन् । अमेरिकामा श्रीमतीको क्यान्सरको उपचार सम्भव नभएपछि उहाँकी श्रीमती नेपाल फर्किएपछि केही समयमा उहाँकाे निधन भयाे ।

 

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम