बागलुङ बहुउद्देश्यीय सहकारीका शेयर सदस्यलाई सहकारी सचेतना


 बागलुङ, ५ असोज ।   बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यहरुलाई सहकारी ऐन, नियम र संस्थाको आगामी कार्ययोजनाका बारेमा जानकारी दिने उदेश्यका साथ २ दिने सहकारी शिक्षा तथा संस्थागत प्रस्तुती कार्यक्रम बिहीवारदेखि शुरु गरेको छ ।   संस्थाको गत साउनमा सम्पन्न १७ औं वार्षिक साधारणसभाले गरेका निर्णय, संस्थाले लिएका आगामी योजना, नीति तथा कार्यक्रम र सहकारी ऐन, नियम तथा संस्थालाई थप प्रभावकारी रुपमा सञ्चालनका लागि सञ्चालक, शेयर सदस्य र कर्मचारीको भूमिका लगायतका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव तथा शिक्षा उप–समितिका संयोजक योगदान कंडेलले बताउनु भयो ।

 कार्यक्रममा सहकारी ऐन, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको काम कर्तव्य, अधिकार र दायित्व लगायतका विषयमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले सहजीकरण गर्नु भएको छ । जिसीले सहकारी ऐनमा व्यवस्था भए अनुसार सञ्चालक समिति, शेयर सदस्य र कर्मचारीले आ–आफ्नो भूमिका निर्वाह गर्न सकेमा सहकारीमार्फत धेरै परिवर्तन गर्न सकिने बताउनु भयो ।  कार्यक्रममा संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र संरक्षक देवबहादुर श्रेष्ठले संस्थाले लिएको लक्ष्य, योजना र कार्यान्वयनका लागि आवश्यक समन्वय लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो  ।

संस्थामा गठित शिक्षा उपसमितिले आयोजना गरेको सहकारी शिक्षा कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष राजभण्डारी र संरक्षक श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो ।   उद्घाटन कार्यक्रम संस्थाका सचिव तथा शिक्षा उप–समितिका संयोजक योगनाथ कंडेलको अध्यक्षता र प्रवन्धक यज्ञप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 संस्थामा ६ सय भन्दा बढी शेयर सदस्य, साढे ५ करोड शेयर रकम, ३ करोड जगेडा कोष, २९ करोड ६ लाख बचत, २९ करोड ७० लाख कर्जा लगानी रहेको संस्थाले आफ्नै भवनबाट कारोबार सञ्चालन गर्दै आएको छ । १७ औं स्थापना दिवसको अवसर पारेर संस्थाले गत फागुन १४ गतेदेखि सुपथ मूल्य सहकारी पसल सञ्चालन गर्दै आएको छ । कृषि लगायत उत्पादनका क्षेत्रमा समेत लगानी गरेको संस्थाले सहकारी ऐन अनुसार बहुउद्देश्यीय अनुरुपका क्रियाकलाप सञ्चालन गर्ने लक्ष्यका साथ अगाडि बढेको अध्यक्ष अशोकगोविन्द राजभण्डारीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न