राज्यले कृषि सहकारीलाई दिने सहयोग सहकारी बैंक मार्फत परिचालन गर्न माग


चितवन, १४ कात्तिक । कृषि लगायत उत्पादनका क्षेत्रमा काम गर्ने सहकारीहरुलाई राज्यले प्रदान गर्ने बजेट राष्ट्रिय सहकारी बैंक लिमिटेडमार्फत परिचालन गर्न चितवनका साना किसान कृषि सहकारी संस्थाका अगुवाहरुले आग्रह गरेका छन् ।   राष्ट्रिय सहकारी बैंकको चितवन शाखाले मंगलवार चितवनको नारायणगढमा आयोजना गरेको सहकारी बैंक र साना किसान कृषि सहकारी संस्थाहरुबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहकारी क्षेत्रका लागि विनियोजित हुने बजेट सहकारी बैंकमार्फत परिचालन गर्न सकेमा लक्षित वर्गमा छिटो र सहज रुपमा उपलब्ध हुने उनीहरुको भनाई थियो । सहकारीहरुको प्रवद्र्धनका लागि बनेको बैंकमार्फत सहकारी क्षेत्रमा विनियोजन हुने बजेट परिचालन गर्न सहकारीहरुले सरकारसंग माग समेत गरेका छन् ।   सहकारीलाई उत्पादनका क्षेत्रमा काम गर्न सकेनन् भनेर मात्रै नहुने भन्दै सहभागीहरुले सहकारीलाई उत्पादनका क्षेत्रमा काम गर्ने वातावरण बनाउन समेत सरोकारवालाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टराईले सहकारीकर्मीहरु एकजुट भएर सहकारी बैंकमार्फत सरकारको बजेट परिचालनका लागि दवाव दिनु पर्नेमा जोड दिनु भयो । उहाँले सहकारीमार्फत उत्पादन, सेवा र बचतका कार्यक्रमलाई प्रभावकारी बनाउदै अगाडि बढ्नु पर्ने बताउनु भयो ।   कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले कृषि क्षेत्रमा काम गर्ने सहकारीहरुले प्रभावकारी परियोजनाका साथ अगाडि बढेमा बैंकले सहज र सरल रुपमा कर्जा उपलब्ध गराउने बताउनु भयो । सहकारीका सदस्य र संस्थागत रुपमा सञ्चालन गरिने कर्जामा बैंकले सहकारी संघ संस्थाहरुलाई परियोजनाको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने भन्दै उहाँले कृषि लगायत उत्पादन, प्रशोधन, संकलन र बजारीकरणका क्षेत्रमा काम गर्न आग्रह गर्नु भयो ।

 कार्यक्रममा जिल्ला कृषि सहकारी संघ चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले जिल्लाका कृषि सहकारीहरुको अवस्था र सहकारी बैंकसंगको समन्वयका बारेमा जानकारी गराउनु भएको थियो ।   अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारी बैंकको सेवा सुविधा लगायत क्षमता विकासका लागि के गर्न सक्छ ? जिज्ञासा राखेका थिए ।   कार्यक्रममा बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाई, सहायक महाप्रवन्धक हरिकृष्ण सापकोटा, प्रवन्धक प्रमोद कुमार घिमिरेले सहभागीले उठाएका जिज्ञासा बारेमा स्पष्ट पार्नु भएको थियो ।

बैंकका प्रवन्ध सञ्चालक उप्रेतीको अध्यक्षता, सञ्चालक रामबहादुर जिसीको सञ्चालन र चितवन शाखाका प्रमुख दिव्य केसीको स्वागतमा सम्पन्न कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगामी योजनाका बारेमा शिक्षा तथा तालिम विभाग प्रमुख रामबाबु आचार्यले सहजीकरण गर्नु भएको थियो ।   कार्यक्रममा चितवन जिल्लामा क्रियाशिल २५ वटा साना किसान कृषि सहकारी संस्थाका ५० जनाको सहभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी शुक्रबार, माघ २
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न