‘स्थानीय तहले सहकारीलाई प्राथमिकता दिए मात्रै दुर्तगतिमा आर्थिक विकास’


नेफ्स्कुनको २७ औं साधारणसभा सम्पन्न
काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहले सहकारी वास्ता नगरेको बताएकी छिन् । स्थानीय तहलाई सहकारी हस्तान्तरण गरिए पनि अधिकांश तहमा अहिलेसम्म सहकारीको पोकोसमेत नखोलिएको बताइन् । ‘जसरी सहकारीको पोका हस्तान्तरण गरिएको थियो, केही ठाउँमा अहिले पनि पोका खोलिएकाछैनन्,’ उनले भनिन् ।

 

स्थानीय तहले छुट्टै सहकारी डेक्स स्थापना गरी सहकारी हेर्ने कर्मचारी खटाएर सहकारी अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो । स्थानीय तहले सहकारीलाई महत्व दिए मात्रै आर्थिक विकासमा दुर्तगतिमा अघि बढ्ने उनले बताइन् ।

सहकारीबाट गरिबी निवारण गर्न सकिने भन्दै मन्त्री अर्यालले सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । किसानको नाफा बिचौलियाले खाइदिएको भन्दै बिचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गर्न लागिएको बताइन् ।
वित्तीय कारोबार गर्ने सहकारी धेरै भएपनि गुणस्तरीय सेवा दिन नसकेको उनको भनाइ थियो । ‘सहकारीमा मर्ज अभियान चलाउनुपर्ने आवश्यकता छ, मर्जरपश्चात सदस्यले थप गुणस्तर सेवा पाउन सक्छन् ’ उनले भनिन् ।

सहकारी नियमावली कानुन मन्त्रालयमा पुगको भन्दै मन्त्री अर्यालले उताबाट आउनासाथ मन्त्रिपरिषद्बाट पारित हुने बताइन् । सहकारीमैत्री नियमावली र सहकारी ऐन संशोधन गर्न आफूले पूर्णरुपमा सघाउने उनको भनाइ थियो । प्रादेशिक कानुन बन्ने क्रममा भएको भन्दै अर्यालले सबै प्रदेशले नमूना ऐनलाई टेकेर प्रादेशिक ऐन बनाउन सक्ने उनले बताइन् ।

नेकपाका सहकारी विभाग प्रमुख एवम् प्रदेश सांसद पशुपति चौलागाईले सहकारीलाई उत्पादनमा लगाउनुपर्ने बताए । ‘मर्ज गरेरमात्रै ‘सहकारीमार्फत गुणस्तरीय सेवा दिन सकिन्छ’, उनले भने ।

सो अवसरमा मन्त्री अर्यालले कार्यक्रम उद्घाटनसँगै नेफ्स्कून स्मारिका २०७५ को विमोचनगरेकी थिइन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले नेफ्स्कून एन्ड्रोइड मोवाइल एप्सको औपचारिक शुरुवात गरे ।

दुई दिनसम्म चल्ने साधारणसभामा देशभरका साकोस प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको छ । साधारणसभाको पहिलो दिन सभाको औपचारिक उद्घाटन सहित समसामयिक विषयहरुमा प्रस्तुतीकरण भएको थियो ।

आन्तरिक राजश्व कार्यालयका सहकारी अधिकृत शरद निरौलाले वित्तीय सहकारीमा कर व्यवस्थापन, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले सहकारीमा सूचनाको हकः कार्यान्वयन र चुनौती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले तहगत सहकारी ऐन कार्यान्वयनका सम्भावना र चुनौती विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले धन्यवाद ज्ञापन गरेका थिए ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तरक्रिया