सहकारी बैंकको चुनाव : को बन्ला अध्यक्ष ?


ललितपुर । राष्ट्रिय सहकारी बैंकको चुनाव नजिकिदैँ छ । आउँदो २१ र २२ गते हुने १५ औं वार्षिक साधारणसभाले  चार वर्षका लागि  बैंकको नयाँ नेतृत्व चयन गर्दै छ । यतिखेर बैंकको चुनावी माहोलले बजार तातेको छ । बैंकको अध्यक्ष बन्नका लागि सञ्चालक केबी उप्रेती र वर्तमान अध्यक्ष रमेश पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

यी दुवै जना नेकपा समर्थक हुन् । उता नेशनल कोअपरेटर्स एलान्सले बैंकको नयाँ नेतृत्वका लागि पर्ख र हेरको नीतिमा छ । उसले अहिलेसम्म आफ्नो उम्मेदवार बनाइसकेको छैन । उसले प्यानल नै बनाएर भन्दापनि पोखरेल र उप्रेती सहमतिमा आए सम्मानजनक सञ्चालक लिन चाहिरहेको छ । एलाइन्सले केवी उप्रेतीलाई साथ दिने संभावना बलियो भएको सम्बद्ध स्रोतले जानकारी दियो । काठमाडौँका अधिकांश सहकारीकर्मीहरु उप्रेतीको पक्षमा देखिएका छन भने मोरङका सहकारीकर्मीहरु पोखरेलको पक्ष मा देखिएका छन ।

 उप्रेति र पोखरेल यतिखेर पार्टी नेतृत्वलार्इ आफूतिर तान्न खोजिरहेका छन् । प्रारम्भीक सहकारी उप्रेतीप्रति सकारात्मक छन् । उता पोखरेलको समर्थनमा सहकारी क्षेत्रका शीर्षस्थ केही नेतासहित नेकपाका केही शीर्षस्थ नेताहरु छन् । पोखरेल र उप्रेती चुनावी मैदानबाट नहट्ने पक्षमा छन् । बैंकका १० हजार दुइ सय १८ सदस्य छन् ।

बैंकको दुई कार्यकाल नेतृत्व गरिसकेका पोखरेल सहमतिमै एक कार्यकाल अध्यक्ष बन्न दौढधुपमा लागेका छन् । उनले पार्टीले गरेको निर्णय उल्लंघन नहुने बताउँछन् । उता उप्रेती तेस्रो कार्यकाल सञ्चालक भइसकेकाले अब अध्यक्षको चुनावबाट पछि नहट्ने बताएका छन् । उनले व्यवसयिक टिम बनाएर भएपनि चुनावी मैदानमा उत्रिने उनको दाउ छ ।

तत्कालीन नेकपा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागार्इले सहकारी बैंकको चुनावमा पार्टीले आपसी छलफलपश्चात उम्मेदवार छनौट गर्ने बताउँछन् । आजभोलिमै दुवै अध्यक्ष उम्मेदवार आंकक्षीलाई राखेर छलफल गर्ने पार्टीको योजना रहेको उनले सुनाए । बिहीबार बेलुकासम्म नेकपाले बैंकको आधिकारिक उम्मेदवार छनौट गर्ने सम्भावना छ । उप्रेती र पोखरेल दुवैले जिद्दी गरे अर्को उम्मेदवार छनौट गर्न सकिनेसमेत उनले जानकारी दिए ।

बैंकको दर्ता प्रक्रियादेखि नै क्रियाशील रहेका उप्रेती लगातार तेस्रो कार्यकाल सञ्चालक भइसकेकाले अध्यक्ष बन्ने या बाहिरिने भन्दा अरु विकल्प नभएको बताए । उनी हालै नेडाकको उपाध्यक्षसमेत निर्वाचित भएका छन् । तर बैंकको कुनै पदमा नरहे त्यो पद पनि गुम्छ।

 यसअघि उप्रेती राष्ट्रिय सहकारी महासंघको दुई कार्यकाल लेखा संयोजक र जिल्ला सहकारी संघ काठमाडौंको दुई कार्यकाल अध्यक्ष भएर काम गरेका छन् ।

बैंकको यसपालीदेखि अध्यक्षमा प्रत्यक्ष चुनाव हुन लागेको हो । यसअघि सञ्चालक समितिबाट अध्यक्ष चुन्ने परम्परा थियो । अध्यक्षका प्रत्यासी पोखरेल  दुई कार्यकालको अवधिमा सेरोमोनियल अध्यक्ष जस्तै र अहिले  देश संघीयतामा गएकोले अब पनि नेतृत्व गर्न चाहेकाले पछि नहट्ने बताउँछन् ।

बैंकको विनियममा निर्वाचित सञ्चालकहरूमध्येबाट एक जना अध्यक्ष र एक जना प्रबन्ध सञ्चालक बनाउने व्यवस्थाअनुसार पहिलो, दोस्रो र तेस्रो कार्यकालमा उप्रेतीले प्रबन्ध सञ्चालकको जिम्मेवारी बहन गरे । तर अध्यक्ष बन्न उनले केही समयअघि राजीनामा दिएका हुन् ।

बैंकको पछिल्लो विनियम अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरी १५ जनाको सञ्चालक समिति र ३ जनाको लेखा समितिको व्यवस्था छ । ७ वटा प्रदेशबाट १/१ जना, ३३ प्रतिशत महिलासहित १४ जना सञ्चालक रहने व्यवस्था रहेको छ । अबको नेतृत्वमा करिव आधा पूरानै सञ्लाक र आधा नयाँ सञ्चालक आउने सम्भवाना छ ।

बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन सम्पन्न गर्नका लागि बैंकका कानुनी सल्लाहकार रामचन्द्र सिंम्खडाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन उपसमिति चयन भइसकेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको