‘सञ्चारमाध्यमलाई संस्थागत गर्न सहकारी उत्तम विकल्प’


बागलुङ, २०  माघ  । सूचना र सञ्चारमार्फत समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल सञ्चारकर्मीहरुको कार्यस्थलका रुपमा रहेका सञ्चारमाध्यमलाई संस्थागत गर्नका लागि सहकारी उत्तम विकल्प भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।   सूचना र सञ्चारका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शुक्रवार सांझ बागलुङमा आयोजना गरेको पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

संस्थाको वार्षिक कार्यक्रम अन्तरगत जिल्लाका सबै स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुबीच आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी माध्यमलाई व्यवस्थित रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

सञ्चारमाध्यमहरु धमाधम सञ्चालन हुने तर त्यहाँ कार्यरत सञ्चारकर्मीे र कर्मचारीलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध गराउन नसक्ने अवस्थाको अन्त्यका लागि सहकारी उत्तम विकल्पका रुपमा देखिएको वक्ताहरुले बताएका हुन् ।   सञ्चारमाध्यमलाई उद्यमका रुपमा विकास गर्न धेरै व्यक्तिहरुको लगानी प्रभावकारी हुने भएकाले सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न सके न्यूनतम पारिश्रमिक उपलब्ध गराउन तथा न्यून पारिश्रमिकमा जोखिम मोलेर काम गर्ने पत्रकारहरुलाई वचत गर्ने प्रेरित गर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, पूर्व केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना लगायतले सहकारीमार्फत सञ्चारमाध्यम सञ्चालन गर्न देशभर प्रेरित गर्नु पर्नेमा जोड दिनुभयो । एउटा व्यक्ति वा सानो समुहको लगानी भन्दा धेरै जना सदस्यहरुको अपनत्व सहितको लगानीले सञ्चारमाध्यमलाई संस्थागत गर्न थप प्रेरित गर्ने उहाँहरुको भनाइ थियो ।

 नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले आदर्श सञ्चार सहकारी संस्थाले सञ्चारमाध्यम सञ्चालन गरेर देशभरका सञ्चार सहकारीहरुलाई प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले सञ्चारमाध्यम सञ्चालनसंगै सञ्चार र सहकारीका क्षेत्रमा आदर्श सञ्चार सहकारीले गरेका कार्य प्रशंसनीय रहेको भन्दै आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउन समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।   कार्यक्रममा संस्थाको संक्षिप्त परिचय दिदै संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक रामबहादुर जिसीले सहकारीमार्फत सञ्चारमाध्यमलाई संस्थागत गर्दै सञ्चारकर्मीहरुलाई निर्धक्क यो क्षेत्रमा लाग्ने अवस्था सिर्जना गर्न संस्था सफल भएको बताउनु भयो ।

आदर्श सञ्चार सहकारीको कार्यक्षेत्र विस्तार गरी गण्डकी प्रदेश स्तरीय बनाउने तयारी भैरहेको भन्दै उहाँले प्रदेश स्तरीय सहकारी संस्था मार्फत सूचना र सञ्चारलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।   कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 यसैबीच संस्थाको सञ्चालक समितिले गठन गरेको सूचना, सञ्चार तथा प्रकाशन उपसमितिका सदस्यहरुलाई सो अवसरमा स्वागत गरिएको थियो ।   सञ्चालक समितिले उपसमितिका सदस्यहरुमा चन्द्रप्रकाश पौडेल (गणेश), कोपिला कंडेल, राम थापा अविरल, सन्ध्या आचार्य, कृष्ण कंडेल र राजन चालिसेलाई चयन गरेको छ ।   २०६३ मंसिरमा ३२ जनाको ३ लाख २० हजार रुपैया संकलन गरी शुरु भएको आदर्श सञ्चार सहकारी संस्थामा हाल १ हजार ३ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, १३ करोड बचत र १५ करोड कर्जा लगानी रहेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम