सहकारीबीच सहकार्य आवश्यक


सञ्चार र बहुउद्देश्यीय सहकारीबीच अन्तरक्रिया

बागलुङ । सहकारी व्यवसायलाई थप प्रभावकारी बनाउनका लागि अध्ययन अवलोकन र एक अर्काको सकारात्मक कामको अनुशरण आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।   सहकारीको अध्ययन अवलोकनका क्रममा लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आदर्श सञ्चार सहकारी संस्था लिमिटेडबीच बिहीबार बागलुङमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

 

सरकारले लिएको आर्थिक समृद्धिको अभियानमा सबै भन्दा बढी सहकारी क्षेत्रले भूमिका खेल्न सक्नेमा जोड दिदै सहभागीहरुले त्यसका लागि सहकारीहरुबीच आपसी सम्बन्ध, सहकार्य र एकले गरेका राम्रा कामको अनुशरण र कमजोरी सुधारमा ध्यान दिनु पर्नेमा जोड दिए ।   कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका बारेमा जानकारी गराउदै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीकर्मीहरुको अवलोकन भ्रमणले संस्थाहरुलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । सहकारीहरुको अध्ययन अवलोकन भ्रमणले आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर थापा, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौं वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाल लगायतले सहकारीले गर्दै आएका सकारात्मक कामलाई थप प्रभावकारी बनाउन र कमजोरीलाई सुधार गर्नका लागि सहकारी अध्ययन अवलोकन भ्रमण सहयोगी भएको बताउनु भयो ।

 

कार्यक्रममा लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारीका बारेमा संस्थाका सचिव पुस्करराज नेपालले जानकारी गराउनु भएको थियो । २०६४ सालमा स्थापना भएको उक्त संस्थामा १ हजार २ सय शेयर सदस्य, ३ करोड ११ लाख शेयर रकम, ३ करोड ५० लाख निक्षेप, १५ करोड कर्जा लगानी रहेको छ । सदस्य कल्याणकारी कोष लगायत विभिन्न कोषमार्फत सदस्यहरुको सेवामा क्रियाशिल संस्थालाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि अवलोकन भ्रमणमा निस्किएको सचिव नेपालले बताउनु भयो ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै वित्तीय तथा अन्य सेवाका काम गर्दै आइरहेको छ । संस्थामा हाल १ हजार ३ सय शेयर सदस्य, ३ करोड शेयर रकम, १३ करोड बचत, १५ करोड कर्जा लगानी रहेको छ ।

 

सहकारी क्षेत्रलाई प्रवद्र्धनका लागि क्रियाशिल संस्थाले यो क्षेत्रका सहकारीहरुलाई अगाडि बढ्नका लागि प्रेरित गर्दै आएको छ ।   भेटघाट कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी. (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।   भ्रमण टोलीमा लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु, व्यवस्थापक, पूर्व सञ्चालक र शेयर सदस्यहरु गरी १ सय ५० जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न