पर्यटन प्रवद्र्धनमा सहकारीको भूमिका प्रभावकारी बन्दै


होमस्टेका सञ्चालकलाई सहकारी र पर्यटन सम्बन्धी सचेतना

बागलुङ । वित्तीय सेवासंगै समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका सहकारीहरुले पछिल्लो समय पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।   सहकारी संस्थाहरुले पर्यटन प्रवद्र्धन उपसमिति गठन गरी कार्यक्रम सञ्चालनका लागि सहकारीहरुबीच अध्ययन अवलोकनका कार्यक्रम गरेर आन्तरिक पर्यटनमा प्रभावकारी भूमिका खेल्दै गएको व्यवसायीहरुले बताएका छन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरका सहकारीहरुले सहकारी सचेतना लगायत सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मानवीय सेवाका कामहरु गरिरहेका छन् । चैत २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।   यसै सन्दर्भमा बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले जिल्लाकै पहिलो होम स्टेका सञ्चालकहरुलाई एक दिने सहकारी सचेतना तथा सहकारीमार्फत पर्यटन प्रवर्धन सम्बन्धी सचेतना प्रदान गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित जिल्लाकै पहिलो होम स्टे ‘अतिथि सत्कार होम स्टे’ का सञ्चालक, मिलिजुली महिला समुहका सदस्य र आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुलाई आइतबार सहकारी सचेतना  तथा सहकारी मार्फत पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दैं मिलिजुली महिला समुहका अध्यक्ष ईन्द्रा थापाले महिलाहरुलाई व्यवसायिक बनाउँनको लागि सहकारी सचेतना कार्यक्रम प्रभावकारी हुने बताउँनुभयो ।

उहाँले पछिल्लो समय भकुण्डेका महिलाहरु होम स्टे सञ्चालन र स्थानीय उत्पादनको बजारीकरणले व्यवासय उन्मुख बन्न थालेको भन्दैं यस्तो अवस्थामा सहकारीले आयोजना गरेको सचेतना कार्यक्रमले बचतको महत्वको बारेमा जानकारी भएको बताउँनुभएको थियो । उहाँले सहकारीहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य उमाकान्त शर्माले राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संस्थाका सह सम्पादक सिर्जना पन्तले कार्यक्रमको सहजीकण गर्दै २०६३ सालमा साविक धौलागिरि अञ्चलमै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक पत्रिका र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन सँगैं वित्तीय तथा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले ३२ जना शेयर सदस्यको ३ लाख २० हजार शेयर पुँजी बाट सुरु भएको सहकारीमा हाल १ हजार ३ सय शेयर सदस्य, ३ करोड शेयर पूँजी, १३ करोड निक्षेप र १५ करोड कर्जा लगानी भएको जानकारी गराउँनुभएको थियो । कार्यक्रम संस्थाका पूर्व सञ्चालक सन्तोष क्षेत्रीको अध्क्षतामा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन