अभियानलाई सबल बनाउन को-अपरेटिभ विश्वविद्यालयको अवधारणा


काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले गुणस्तरीय शिक्षा र सीपबाट आम सहकारीकर्मीहरु सवल हुनुपर्ने बताउनुभएको छ । उक्त कुरा उहाँले राष्ट्रिय सहकारी महासंघको शिक्षा तथा तालिम उपसमितिद्वारा ललितपुरमा सञ्चालित सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका विषयक एक दिवसीय गोष्ठीलाई संबोधन गर्दै बताउनु भएको हो । गत असार २३ गते सम्पन्न उक्त कार्यक्रममा बोल्दै बडालले राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानलाई सवल बनाउन कोअपरेटिभ युनिभर्सिटीको अवधारणा ल्याएको जनाउनुका साथै सहकारीमा तालिम तथा प्रशिक्षण महत्वपूर्ण विषय भएकाले सहकारीकर्मीहरु अध्ययन र लेखनमा सक्रिय हुनु पर्नेमा जोड दिनुभयो । मानव स्रोत सबैभन्दा महत्वपूर्ण भएकोले शिक्षा र सीपले नै मानव स्रोतलाई बलियो बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त अवसरमा महासंघका उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्लले सहभागी सहकारीकर्मीहरुले गोष्ठीबाट सिकेको शिक्षा र सीपलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रमका अतिथि महासंघका सञ्चालक माधव दुलालले सहकारी अभियानले पहिलो चरण पार गरिसकेकाले अब गुणात्मक विकासमा लाग्नु पर्ने बताउँनुका साथै सहकारीको गुणस्तर सहकारीकर्मीहरुले नै बृद्धि गर्नु पर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले आधुनिक उच्च प्रविधिको विषयमा समेत सहकारीकर्मीहरु जानकार हुनुपर्ने खाँचो औल्याउनु भयो । पौडेलले तालिम र प्रशिक्षणलाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्न नेफ्स्कूनले काभ्रेमा २० रोपनी जमीनमा तालिम तथा प्रशिक्षण भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

उक्त गोष्ठीमा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बा, नायब महाप्रबन्धक बाबुल खनाल, नेफ्स्कूनका पदाधिकारी र उपत्यकाका विभिन्न सहकारी संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सञ्चालन गर्नु भएको सो गोष्ठीमा सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले “सहकारीमा शिक्षा तथा तालिम उपसमितिको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर