शान्तिको प्रतीक
गाढा प्रीत बसाउने घरचरी मान्छेसितै रत्तिने ।
गर्छे माकुर गान आँगन घुमी मीठो कला पस्किने ।
टिप्छे अन्न सिता नपोख यसरी भन्दै परेवा चरी ।
साह्रै नै मन पर्छ शान्तिप्रिय छे पन्छी हरुकी परी ।।
हाम्रा राष्ट्रिय पर्वमा अतिथिले छोड्छन् परेवा किन ?
यो हो शान्ति-प्रतीक राष्ट्रभरि यै सन्देश चोखो दिन ।
हेरे मन्दिरका टुँडालहरुमा बस्छन् छपक्कै किन ?
द्यौताका प्रिय भक्त साधक गुणी छैनन् परेवा विना ।।