म्याग्दी सहकारीको १२औं साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन


काठमाडौं । ‘छन् यहाँ जाती धर्म, संस्कृति थरिथरि, हाम्रालागि सबै सदस्य बराबरी’ भन्ने मुल नारा लिएर धवलागिरीबासीको पहलमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको व्यस्त ठाँउ गोंगबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका सिद्धान्त, मुल्य, मान्यताबमोजिम अघि बढेकै कारण सफल सहकारीकोरुपमा स्थापित छ । साधारण सभाले म्याग्दी सहकारीमा नयाँ संचालक समिति पनि निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले थदेवी पुनको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी, थमबहादुर छन्त्याल र धनलाल जैशीलाई चयन हुनुभएको छ ।

यसैगरी समितिको सचिवमा दिपबहादुर छन्त्याल, कोषाध्यक्षमा इन्द्रजीत छन्त्याल, सहसचिवमा टकबहादुर थापा र सहकोषाध्यक्षमा छकप्रसाद शेरचन निर्वाचित हुनुभएको छ । समितिमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल र हर्क नारायण घर्तीमगर सदस्यमा चुनिनु भएको छ ।

त्यसैगरी सभाले चित्रबहादुर पुनको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गरेको छ । समितिमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल सदस्य हुनुहुन्छ । स्वागत भाषण उपाध्यक्ष सुशिला शेरचनले गर्नु भएकाे हाे।

संस्थाका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि महालेखा नियन्त्रक एवं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले उद्घाटन गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै उहाँले आफूले सहकारी मन्त्रालय छाडे पनि सहकारी क्षेत्रसंग सम्बन्धित गतिविधि नछाडेको बताउनुभयो ।

सहकारी क्षेत्रले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले सहकारीमा वित्तीय सुशासन, पारदर्शीता र सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका कार्यान्वयनमा जोड दिनुभयो । सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाई थियो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल कोअपरेटर्स एलाइन्सका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक डिल्ली तिवारीले सहकारीले पैसा किन्ने र बेच्ने मात्र नभई उत्पादनशील क्षेत्रमा समेत लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारी ऐन कानुनमा भएका सम्पूर्ण प्रावधान तुरुन्त अक्षरस लागू गर्न नसकिने विचार राख्दै सदस्यहरुलाई संस्थाका राम्रा÷नराम्रा कामलाई केलाएर हेर्न सुझाव दिनुभयो ।

त्यस्तै साधारण सभामा शुभकामना मन्तव्य राख्दै धौलागिरि समूहका अध्यक्ष श्याम श्रेष्ठले सहकारी सम्बन्धी ऐन कानुनमा धेरै अवरोध रहेकाले सहकारीलाई कामगर्न असहज भएको जिकीर गर्नुभयो । खराब काम गर्ने सीमित सहकारीलाई आधार मानेर कानुन बनाईएकाले समस्या आएको उहाँको तर्क थियो ।

संस्थाका सल्लाहकार डा. ज्योति शेरचनले सहकारीको साधारण सभालाई वार्षिक चाडकोरुपमा चित्रण गर्दै सदस्यहरुलाई संस्थाका गतिविधिको विश्लेषण गरेर जिज्ञाशा राख्नुका साथै आवश्यक सल्लाह समेत दिन सुझाव दिनुभयो ।

यसैगरी समारोहलाई सम्बोधन गर्दै सहकारी हकहित राष्ट्रिय समाजका उपाध्यक्ष गोविन्द गिरीले सहकारी सम्बन्धी ऐन तथा नियमावलीमा अझैपनि धेरै अव्यवहारिक विषयहरु रहेकाले कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने धारणा राख्नुभयो । उहाँले सदस्यहरुलाई संस्थाका गतिविधिप्रति प्रति चनाखो रहनुका साथै सक्रियरुपमा सहभागी हुन आग्रह गर्नुभयो ।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थदेवी पुनले संस्थामा ८ सय ६८ जना महिला र ७ सय ९२ जना पुरुष गरि १ हजार ६ सय ६० जना शेयर सदस्य रहेको जानकारी दिनुभयो । गत असार मसान्त सम्ममा संस्थाले शेयर पुँजी ७ करोड ५० रुपैयाँ, बचत संकलन ३९ करोड १८ लाख रुपैयाँ र कर्जा लगानी ३७ करोड ८० लाख रुपैयाँ पुर्याएको बताउनुभयो ।

संस्थाका सचिव दिपबहादुर छन्त्यालले संचालन गर्नुभएको सो कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरुलाई उपाध्यक्ष कृष्णबहादुर के.सी.ले स्वागत गर्नुभएको थियो ।

साधारण सभाको अवसर पारेर संस्थाले २०७५ सालको एसईई परीक्षामा शेयर सदस्यका छोराछोरीहरु मध्येबाट उत्कृत्ट जीपीए ल्याउने चार जना विद्यार्थीलाई सम्मानित गरेको छ । यसैगरी संस्थाले उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट आवधिक बचतकर्ता र उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न