स्वाबलम्वन श्रमिक सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभा सम्पन्न ; कोप रेष्टुराँ सञ्चालन


राष्ट्रिय सहकारी महासंघ लि.नेपाल द्वारा प्रवद्र्धित स्वाबलम्वन श्रमिक सहकारी संस्थाले कोप रेष्टुराँ सञ्चालनमा ल्याएको छ । स्वावलम्बन श्रमिक सहकारीले १३ पुसमा प्रथम बार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ । सो साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले श्रम गर्ने जनशक्तिलाई सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सामाजिक न्याय र उत्पादनसंग सहकारी जोडिनु पर्ने कुरामा जोड दिनु भयो ।

 

काठमाडौंको मैतीदेवीमा सो संस्थाले कोप रेष्टुराँ संचालनमा ल्याएको हो । स्वाबलम्वन सहकारी संस्था लि.सबैलाई आकर्षण गर्न सक्ने सशक्त र प्रभावकारी बन्नुपर्ने बताउँदै व्यवसाय सञ्चालन गर्दा इमान्दारिता, निरन्तरता, धैर्यता र सौहार्दता जरुरी हुने भएकाले सञ्चालकहरुलाई जिम्मेवार भएर लाग्न अध्यक्ष बडालले आग्रह गर्नुभयो ।

 

महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले नेपालको सन्दर्भमा कोप ब्राण्डमा नयाँ कार्यको थालनी भएको बताउँदै सहकारी ऐन,२०७४ मा आधारित श्रमिक सहकारी संस्थाका सदस्यहरु आफैमा मालिक र उपभोक्ता बन्ने उद्देश्य अनुरुप कोप रेष्टुराँ सञ्चालनमा ल्याएकोमा खुसी लागेको विचार व्यक्त गर्नुभयो ।

 

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीका सदस्यहरुले आफैले सफलतापूर्वक व्यवसाय सञ्चालन गरेको देख्न पाउँदा विदेशमा देखेको कोप ब्राण्ड नेपालमै देख्न पाएको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघको अगुवाई श्रमिक सहकारी संस्था दर्ता व्यवहारिक रुपमा व्यवसाय सञ्चालन हुनु नेपाली सहकारी अभियानको नयाँ फड्को भएको विचार व्यक्त गर्दै उहाँले सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । साथै उहाँले सो अवसरमा श्रमिकको रुपमा स्वाबलम्बन श्रमिक सहकारी संस्था लि.को शेयर खरिद गर्ने प्रण पनि गर्नुभयो ।

 

संस्थाका अध्यक्ष मिलन मल्लको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव दीपक खड्का, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, नायव महाप्रबन्धक बाबुल खनाल, अन्तर्राष्ट्रिय श्रमिक संगठनका प्रतिनिधि मिलन श्रेष्ठ, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहाल लगायतको उपस्थिति थियो ।

सोही अवसरमा अध्यक्ष बडाल र सहकारी विभागका राजिष्ट्रार पाण्डे राष्ट्रिय सहकारी महासंघले अनुदान स्वरुप प्रदान गरेको पाँच लाखको चेक संस्थाका अध्यक्ष मिलन मल्ललाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर