सहकारी मार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका सम्भावनाहरु


वि.सं.२०१३ साल चैत्र २० गते चितवनको बखानपुरबाट शुरुभएको सहकारी अभियान अहिले राज्यभर फैलिसकेको छ । त्यति मात्र नभै राज्यको आर्थिक विकासको ३ शसक्त खम्वा मध्ये १ खम्वाको रुपमा सहकारीलाई राज्यले स्वीकार गरिसकेको छ जुन नेपालको संविधानको धारा ५०(३) मा स्पष्टरुपमा लिपिबद्ध भईसकेको छ ।

२०१३ सालमा  शुरु भएतापनि यसको संस्थागत विकास भने सहकारी ऐन २०४८ को प्रादुर्भाव पश्चात मात्र भएको पाईन्छ । सहकारी ऐन २०४८ ले सहकारी संस्थाहरुलाई स्वायत्त र स्वतन्त्र रुपमा सञ्चालन गर्न सक्न बनाइदियो र नेपालीहरुको सहकारीप्रतिको आकर्षण बढ्न थाल्यो फलस्वरुप स्वस्फुर्तरुपमा सहकारी संस्था स्थापना हुनथाले । जुन अहिले आएर लगभग ३५ हजारको हाराहारीमा पुगेको छ । यसरी सहकारी संस्थाहरु संख्यात्मकरुपमा मात्र बृद्धि भएका होइनन् । सदस्यहरुको आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका समेत सहकारीले खेलेका छन् ।

 

यसरी दर्ता भएर सञ्चालनमा आएका सहकारी विभिन्न प्रकृतिका छन् । बचत तथा ऋण, बहुउद्देश्यीय, दुग्धउत्पादक, कृषि, चिया, कफि, उखु, सुपारी, जुनार, माछा, तरकारी तथा फलफुल, च्याऊ, सञ्चार, पर्यटन लगायतका छन् । जुन उद्देश्यवाट दर्ता भएतापनि यी सहकारीहरुको मूलभुत उद्देश्य भनेको सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गरि राज्यको अर्थतन्त्रको ३ शसक्त खम्वा मध्येको एक खम्बालाई दरिलो बनाउनु नै हो । बचत तथा ऋण सहकारीले ग्रामिण क्षेत्रदेखी शहरी क्षेत्र सम्मका ब्यक्तिहरुका लागि आर्थिक पहुँच विस्तार गरेको छ । जसले बैंक सम्म पहुँच नपुगेका क्षेत्रलाई समेत बैंकिंग कारोवार गर्न सिकाइरहेको छ, बचत गर्ने बानीको विकास गराएको छ भने सुलभ र सरल कर्जा उपलब्ध गराएर उद्यमशिल बन्न सिकाइरहेको छ भने अन्य प्रकृतिका सहकारीहरुले पनि ठाँउ अनुसार उद्यम गर्न आफ्ना सदस्यहरुलाई प्रेरित गरिरहेको छ । बहुउद्देश्यीय, कृषि, चिया, कफि, दुग्ध लगायतका सहकारीहरुले पनि आफ्ना उद्देश्य अनुसारका कार्यहरु गरी उत्पादनका क्षेत्रहरुमा महत्वपूर्ण योगदान पुर्याईरहेका छन् ।

आन्तरिक पर्यटन र सहकारी

सहकारीको निकै संभावना बोकेको अर्को क्षेत्र हो पर्यटन । सहकारीले गर्ने हो र राज्यले वातावरण बनाईदिने हो भने सहकारीले पर्यटनको क्षेत्रमा गर्न सक्ने धेरै कामहरु छन । यसका लागी त सर्वप्रथम राज्यले बनाउने कानूनहरु सहकारी मैत्री हुनुपर्दछ । अहिले पर्यटन सहकारी ज्यादै न्यून संख्यामा छन् तापनि आन्तरिक पर्यटन प्रवद्र्धनमा ठुलो उपलब्धी हासिल गरेको छ तर यसमा पर्यटन सहकारीको मात्र नभई अन्य सहकारीहरुको समेत महत्वपूर्ण भूमिका रहेको छ ।

 

अहिले मानिसहरु यति धेरै ब्यस्त छन जस्ले गर्दा दुई दिन मात्र समय मिल्यो भने पनि घुम्न निस्कने योजना बनिहाल्छ । चार जना साथिभाई जम्मा हुने वित्तिकै पनि यस्तै योजना बन्न थाल्छन । यति मात्र नभै सहकारी संस्थाका प्राय तालिम तथा कार्यक्रमहरु बाहिर हुन थालिसकेका छन । संस्थामै कुनै कार्यक्रम गर्दा उपस्थिती ज्यादै न्यून रहन्छ भने सोही कार्यक्रम बाहिर गर्दा उपस्थिती संस्थाले अनुमान गरेभन्दा धेरै बढि हुन्छ जस्ले गर्दा संस्थाहरुले सदस्य सहभागिता बृद्धिका लागि भए पनि कार्यक्रम बाहिरै गर्नुपर्ने बाध्यता छ । यसरी सहकारीले बाहिर गएर कार्यक्रमहरु गर्दा त्यस ठाउँको प्रचार प्रसार हुने गर्दछ, त्यसैगरी होटलहरुको व्यवसाय बृद्धि लगायत आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यहरु हुने गर्दछ ।

 

त्यति मात्र नभई अव सहकारी संस्थाहरुले आफ्ना बार्षिक कार्यक्रमहरुमा नै अन्य सहकारी हरुसंग अनुभव आदान प्रदान र अवलोकन भ्रमणका कार्यक्रमहरु राख्ने गरेका छन । यसलाई त झन आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सवल पक्षको रुपमा लिनुपर्दछ । अहिले केही जिल्लाहरु सहकारी अध्ययन अवलोकनका लागि हव नै बनिसकेका छन । ति जिल्लाहरुमा सहकारीका माध्यमबाट हजारौं आन्तरिक पर्यटकहरु भित्रिरहेका छन  । सहकारी अवलोकन भ्रमणका लागि  धेरै रुचाइएका जिल्लाहरुमा पोखरा, बागलुंग, कपिलबस्तु, रुपन्देही, दोलखा ,इलाम, झापा, चितवन, नवलपरासी, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे लगायतका क्षेत्रहरु छन भने अन्य क्षेत्रहरुमा पनि नियमित यस्ता कार्यक्रम भईरहेका हुन्छन । माथि उल्लेखित क्षेत्र नै सहकारीहरुको रोजाईमा पर्नुको कारण हो ति पर्यटकिय तथा धार्मिक क्षेत्र हुनुका साथै ति क्षेत्रका सहकारी संस्थाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्राण्ड प्राप्त गर्न सफल भएका कारण पनि त्यहा अध्ययन गर्न सकिने विषयबस्तु धेरै छन् । यी कार्यक्रमहरु भनेका पर्यटन प्रवद्र्धनका लागि विना योजना सञ्चालन भएका कार्यक्रमहरु हुन तापनि आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याईरहेको छ भने अझ यसलाई योजनावद्ध ढंगले गर्ने हो भने सहकारी मार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउन सकिन्छ ।

 

यसरी सहकारीका कार्यक्रमका माध्यम बाट ति क्षेत्रका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुको प्रचारप्रसार हुन्छ फलस्वरुप आगामी दिनहरुमा पर्यटकको संभावना बढ्छ । त्यस्तै ति ब्यक्तिहरुको खानपान र बसाई त्यहिका होटल तथा होमस्टेहरुमा हुन्छ जस्ले गर्दा त्यस क्षेत्रको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्छ । त्यति मात्र नभै त्यहाँका स्थानिय उत्पादन कोशेलीका रुपमा लैजाने हुँदा स्थानिय उत्पादनहरुको समेत विक्री बढ्छ । यि आदि कारणहरुले गर्दा सहकारी मार्फत आन्तरिक पर्यटनको विकाश गर्ने प्रचुर संभावनाहरु छन  । अझ बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई त सहकारी ऐन २०७४ मा ब्यवस्थाभए बमोजिम बहुउद्देश्यीय प्रकृतिको कार्य गर्नकालागि त आन्तरिक पर्यटन प्रवद्र्धनमा आधारित व्यवसाय सञ्चालन गर्ने एउटा अवसर पनि हो । यो अवसरलाई कार्यानवयन गर्न सके मात्र पनि समृद्ध राष्ट्र निर्माणको लागि महत्वपूर्ण योगदान हुन सक्छ ।

 

सम्भावनाहरूः

सहकारी मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन र विकासका लागि निम्न संभावनाहरु देखिन्छः

१)            होमस्टे सञ्चालन

सहकारी संस्थाहरुले आफ्नो संस्थामा आउने अन्य संस्थाका सदस्यहरुको खाना र बासका लागि आफ्ना सदस्यहरुलाई होमस्टे सञ्चालन गराउन सक्ने सम्भावना छ । जसले गर्दा आफ्ना सदस्यहरुको व्यवसाय प्रवद्र्धन पनि हुने र आफ्नै सदस्यहरुकोमा अतिथि सत्कार पनि हुन्छ ।

२)            खाजाघर सञ्चालन

सहकारी मार्फत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न स्थानमा सदस्य तथा सदस्यहरु मिलेर खाजाघरहरु सञ्चालन गर्न सकिन्छ ।

३)            सुविधा सम्पन्न तालिमहलको सञ्चालन

सहकारी संस्थाहरुले संभावित स्थानहरुमा सुविधा सम्पन्न तालिमहलहरु सञ्चालन गरेर पनि आन्तरिक पर्यटनको सम्भावनालाई बृद्धि गर्न सकिन्छ ।

४)            होटल सञ्चालन

सहकारीले नै सुविधा सम्पन्न होटलहरु सञ्चालन गरेर पनि आन्तरिक पर्यटन प्रवद्र्धनको संभावना  बढाउन सकिन्छ ।यो काम एउटै सहकारीबाट संभावना भएन भने एक भन्दा बढि सहकारी मिलेर पनि गर्न सकिन्छ ।यस्तो कार्यको शुरुवात ललितपुर र काभ्रेमा भईसकेको छ ।

५)            कोशेलीघर सञ्चालन

आफ्ना स्थानिय उत्पादन तथा सदस्यका उत्पादनहरु राखेर कोशेलीघर सञ्चालन गर्न सकिन्छ ।ति बस्तुहरु कोशेलीका रुपमा लैजाने संभावना बढि छ ।

६)            बस सञ्चालन

सहकारीले आफ्ना बसहरु सञ्चालन गरेर पनि पर्यटन प्रवद्र्धनको काम गर्न सक्छ ।

७)            साँस्कृतिक कार्यक्रम तथा पर्यटकिय क्षेत्रको जानकारी

सहकारीले आफ्ना संस्थामा अवलोकन भ्रमणमा आउने ब्यक्तिहरुलाई आफ्नो क्षेत्रको पर्यटकियक्षेत्रहरुको जानकारी अनिवार्य गराउने र आफ्ना सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेर पनि आन्तरिक पर्यटन को विकास गर्न सक्छ । अन्तमा यति धेरै संभावना हुदाहुदै पनि हामि यस क्षेत्रमा पछि परिरहेका छौं । सहकारीको कार्यक्रममा जादा सहकारीकै बस चढेर ,सहकारीकै खाजाघर, होमस्टे तथा होटलमा बस्दै खाजा खादै सहकारीका सदस्यहरुकै साँस्कृतिक कार्यक्रमको आनन्द लिदै सदस्यहरुकै उत्पादन कोशेलीको रुपमा लिएर फर्कन पाउँदाको आनन्द नै फरक हुन्छ  । यति गर्न सक्यो भने सहकारीलाई लाग्दै आएको पैसा किन्ने र बेच्ने भन्ने आरोप पनि झुठमा परिणत भई सहकारी क्षेत्रको नै उदाहरणिय काम हुन सक्थ्यो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न