सामूहिक साकोस संग गाभिए समता र बुद्ध साकोस
भक्तपुर, माघ २६ । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर नगरपालिका ३, ले यही २०७६ माघ २५ गते एक बिशेष कार्यक्रमका बीच मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिका कार्यक्षेत्र रहेका अन्य दुई सहकारी संस्थाहरुसँग एकीकरण सहमतिको घोषणा गरेको छ ।
सामूहिक बचत तथा ऋण सहकारी संस्थासँग मध्यपुर ठिमी नगरपालिका ६ स्थित समता बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका ४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएका छन् ।
साकोस एकीकरण घोषणासभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संस्था एकीकरणले कसैलाई पनि बेफाईदा नगर्ने भएकाले सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न एकीकरण अनिवार्य भएको कुरा उल्लेख गर्नुभयो । साथै एकीकरण सहमति भएका तीन वटै सहकारी संस्थाहरुलाई शुभकामना समेत दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोबिन्द लाखाजु , भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ लगायत अन्य अतिथि तथा बिभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्था एकीकरण किन र यसका फाईदाहरु के छन् भन्ने बिषयमा नेफ्स्कूनका बिभागीय प्रमुख दुर्गाप्रसाद ढकालले प्रस्तुतीकरण गर्नुभएको थियो ।
सहकारी संघ÷संस्था एकीकरणका लागि सहकारी बिभागबाट एकीकरण कार्यविधि २०७० जारी भए पछि भक्तपुर जिल्लामा सहकारी एकीकरणका लागि यो पहिलो प्रयास भएको छ ।
आगामी दिनमा भक्तपुरका अन्य सहकारी संस्थाहरुसँग पनि एकीकरण सहमती गरी भक्तपुरमा नमुना संस्था बनाउने विषयमा तीन वटै संस्थाका अध्यक्षहरुले प्रतिबद्धता जनाउदै अन्य संस्थाहरुलाई समेत एकीकरणका लागि आव्हान गरेका छन् ।
संस्थाले ५ वर्षे रणनीतिक योजना अनुरुप पहिलो वर्षको अर्धवार्षिक समीक्षा गरी सन्तोषजनक लक्ष्य हासिल गरेको र आगामी दिनमा अझ बढी लक्ष्य प्राप्तिका लागि प्र्रतिबद्ध रहने जनाएको छ । हाल संस्थाको कूल कारोवार ४८ करोड ५६ लाख रहेकोमा एकीकरण पछि कुल कारोबार करीव ५४ करोड पुग्ने संस्थाले जनाएको छ ।
सोही दिन भक्तपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित सञ्चालक समितिलाई संस्थाले बधाई तथा शुभकामना समेत प्रदान गरेको थियो ।
नेफ्स्कून खबरबाट